कोरोना महामारी बढ्ने क्रम नरोकिएपछि देशका एकपछि अर्काे जिल्लामा निषेधाज्ञा लागू गर्ने क्रम जारी छ।
कालिकोटमा आंशिक रूपमा जारी गरिएको निषेधाज्ञा अवधि शुक्रबार राति १२ बजे सकिएपछि निषेधाज्ञा लागू जिल्लाको संख्या १७ मा झरेको छ तर थप ५ जिल्लामा निषेधाज्ञा लागू गरिँदैछ।
गृह मन्त्रालयको तथ्यांकअनुसार आज शनिबार बिहानसम्म १४ जिल्ला पूर्ण र ३ जिल्ला आंशिक रूपमा बन्द छन्।
थप ५ जिल्लामा निषेधाज्ञा जारी हुँदै
सम्बन्धित जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) का अनुसार आज (शनिबार) राति १२ बजेदेखि जाजरकोट, भोलि (आइतबार) बिहान ६ बजेदेखि रुकुम पश्चिम, सल्यान र डडेल्धुरा तथा आइतबारै राति १२ बजेदेखि झापामा निषेधाज्ञा जारी गरिँदैछ।
पूर्ण बन्द
हाल काठमाडौं, ललितपुर, भक्तपुर, बाँके, सुर्खेत, कास्की, कैलाली, पर्सा, दाङ, कञ्चनपुर, चितवन, रूपन्देही, पाल्पा र सुनसरीमा जिल्लाभर निषेधाज्ञा लागू छ। पछिल्ला २ जिल्लामा शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा लागू गरिएको हो।
आंशिक बन्द
बागलुङ, बर्दिया र दार्चुलामा भने संक्रमण र जोखिम बढी भएका स्थानमा मात्र निषेधाज्ञा लागू गरिएको छ।
बागलुङको बागलुङ नगरपालिकाका वडा नम्बर १२, १३ र १४, साविक आमलाचौर, पैयुपाटा र नारायणस्थान गाविसमा निषेधाज्ञा लागू छ। यस्तै कालिकोटको खाँडाचक्र नगरपालिका वडा नम्बर ११ को रेङगिलमा निषेधाज्ञा लागू छ। जहाँ वैशाख २४ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी रहनेछ।
यसैगरी बर्दियाका गुलरिया नगरपालिकाका वडा नम्बर ५ र ६, बाँसगढी नगरपालिकाको बाँसगढी बजार, बारबर्दिया नगरपालिकाका जयनगर र कतर्निया बजार, मधुवन नगरपालिकाको लाली बजार, ओराली बजार, ठाकुरबाबा नगरपालिकाको बगनाहा, भुरीगाउँ र ठाकुरद्वारा बजार, राजपुर नगरपालिकाको राजापुर र मानपुर टपरा बजार, बढैयाताल गाउँपालिकाका भोलागौडी, मैनापोखर र शीतला बजार र गेरुवा गाउँपालिकाका शान्तिबजार र पशुपतिनगर बजार क्षेत्रमा निषेधाज्ञा लागू छ। तर यी क्षेत्रमा आज शनिबार राति १२ बजे निषेधाज्ञा अवधि सकिँदैछ।
यस्तै दार्चुुलाको मार्मा गाउँपालिका र व्यास गाउँपालिकाको वडा नम्बर ६, शैल्यशिखर नगरपालिकाका वडा नम्बर १, बलाँज बजार, वडा नम्बर २, थला बजार, वडा नम्बर ३, कर्कले बजार, वडा नम्बर ५ को बजार क्षेत्र र वडा नम्बर ९ का गोकुलेश्वर बजार, कठपते, गाँजरी, नायल र घट्टीगाडमा निषेधाज्ञा जारी छ।
कहाँ, कहिलेसम्म?
जारी निषेधाज्ञा बाँकेमा वैशाख २० गतेसम्म, सुर्खेत र कास्कीमा २१ गतेसम्म, काठमाडौं, भक्तपुर, ललितपुर, कैलाली, पर्सा र कञ्चनपुरमा वैशाख २२ गतेसम्म कायम हुनेछ। काठमाडौं उपत्यका (तीनै जिल्ला) मा भने २२ गतेपछि पुनः अर्को हप्ता थपिने सम्भावना छ। यस्तै अन्य स्थानमा पनि संक्रमणको अवस्था हेरेर यो अवधि थपिने देखिन्छ।
यस्तै बिहीबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू रूपन्देहीमा ३० गतेसम्म, चितवनमा ३१ गतेसम्म यो कायम रहनेछ।
यस्तै शुक्रबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिएको दाङमा वैशाख २५ गतेसम्म, शुक्रबार राति १२ बजेदेखि निषेधाज्ञा जारी पाल्पा र सुनसरीमा यो प्रतिबन्ध वैशाख २४ गतेसम्म कायम रहनेछ।
शनिबार राति १२ बजेदेखि निषेधाज्ञा जारी गरिने जाजरकोटमा २५ गते राति १२ बजेसम्म यो कायम रहनेछ।
भोलि आइतबार बिहान ६ बजेदेखि निषेधाज्ञा लागू गरिने रुकुम पश्चिममा ३१ गते राति १२ बजेसम्म, डडेल्धुरामा २५ गते राति १२ बजेसम्म र झापामा २६ गते राति १२ बजेसम्म यो लागू रहनेछ। भोलि आइतबार बिहान ६ बजेदेखि नै निषेधाज्ञा लागू हुने सल्यानमा भने यो प्रतिबन्ध जेठ २ गतेसम्म कायम रहनेछ।
निश्चित स्थानमा निषेधाज्ञा लगाइएका जिल्ला कालिकोटमा शुक्रबार राति १२ बजेबाट यसको अवधि सकिएको छ भने निश्चित स्थानमै निषेधाज्ञा लगाइएको बर्दियामा पनि आज राति १२ बजेबाट यसको अवधि सकिँदैछ।

प्रतिक्रिया