ad ad

समाज


भेरीमा टरेन डाक्टरको अभाव, मागअनुसार आवेदन नै परेन

भेरीमा टरेन डाक्टरको अभाव, मागअनुसार आवेदन नै परेन

नेपालखबर
बैशाख १६, २०७८ बिहिबार ८:२५,

कोरोना संक्रमणले भयावह रुप लिएको नेपालगन्जस्थित भेरी अस्पतालमा काम गर्न डाक्टरहरुले अनिच्छा देखाएका छन्।

सरकारले भेरी अस्पतालका लागि १० मेडिकल अफिसरसहित ८० जना स्वास्थ्यकर्मी माग गरेको भए पनि २ जना मात्रै मेडिकल अफिसरको आवेदन परेको भेरी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाश थापाले बताए।

दोस्रो चरणको कोरोनाले भयावह रुप लिएपछि भेरीका लागि सरकारले ८० जना स्वास्थ्यकर्मी भर्ना गर्न अनुमति दिएको थियो।

अन्य पदमा मागभन्दा बढि आवेदन आए पनि मेडिकल अफिसरमा भने आवेदन कम आएको मेसू थापाले बताए।

आवेदन दिएका स्वास्थ्यकर्मीले केही दिनमै काम सुरु गर्ने छन्।

‘आवेदन दिएकाहरु केही दिनमै काम थाल्छन् तर चिकित्सक तहको माग गरे पनि पाइरहेका छैनौं,’ थापाले नेपालखबरसँग भने ।

भेरीका लागि मेडिकल अफिसर १० जना, एनस्थेसियोलोजिस्ट ३ जना, नर्सिङ अफिसर २ जना, नर्सिङ स्टाफ ४० जना, ल्याव टेक्निसियन ५ जना र २० जना सरसफाइ कर्मचारी माग गरिएको थियो।

‘हामीले स्वास्थ्यकर्मी अपुग भएपछि स्वास्थ्य मन्त्रालयसँग माग गरेका थियौं, तर अहिले कहिँबाट पनि पठाउने अवस्था नभएपछि उहाँहरुले बजेटको व्यवस्था गरिदिएर भर्ना गर्न भन्नु भएको थियो, अनि हामीले भर्ना प्रक्रिया थालेका हौं’, थापाले भने, ‘अहिले जति जनशक्ति भए पनि अपुग हुने अवस्था छ तर यो जनशक्ति आएपछि डियुटी मिलाउन थोरै भए पनि सहज हुनेछ।

भेरी अस्पतालमा मात्रै २ सय १२ जना बिरामीलाई भर्ना गरिएको छ। यी बिरामी हेर्नका लागि तीन जना मेडिकल अफिसर २४ सै घण्टा तैनाथ हुन्छन्। कन्सल्टेन्ट डाक्टरले दैनिक राउण्ड लगाउँछन् र आवश्यकता परेको खण्डमा बिरामीलाई भेट्छन्।

एनस्थेसियोलोजिस्ट पनि २४सै घण्टा डियुटीमा हुन्छन्। तर गम्भीर प्रकृतिका बिरामी धेरै भएकाले व्यवस्थापनमा समस्या भएको अस्पतालले जनाएको छ।

कोरोना महामारीको अघिल्लो लहरमा बिरामी पनि थोरै संख्यामा रहेको र वृद्ध र दीर्घरोगीको मात्रै अवस्था गम्भीर हुने गरे पनि यसपटक चाहिँ प्रायः सबै बिरामीको अवस्था गम्भीर देखिएको थापाले बताए।

छिमेकी जिल्लाबाट पनि भेरी अस्पतालमै पठाउने भएकाले त्यहाँ बिरामीको चाप बढि भएको हो।

‘अहिले पनि हाम्रोमा बेड नपाउने अवस्था छ, सबै बेड भरिभराउ छन्, कुनै कुनै बेड खालि हुँदै जान्छ र मिलाउन र सकेसम्म बिरामी भर्ना गर्न कोसिस गर्छौं,’ मेसू थापाले भने, ‘बुधबार मात्रै ८ जनाको मृत्यु भयो तर दिनभरमा तीन जना मात्रै निको भएर घर फर्किए।’

खासगरी अस्पताल ढिलो पुग्नेलाई बचाउन गाह्रो भएको र समयमै अस्पताल पुग्नेहरु भने सन्चो भएर फर्किने गरेको उनले बताए।

नेपालगन्ज उपमहानगरपालिकासँगै बाँकेका सबै स्थानीय तहले अक्सिजन सहितको वार्ड निर्माण गरिरहेका छन्। नेपालगन्ज उपमहानगरले तयार गरिरहेको वार्ड केही दिनमै सञ्चालनमा आउने उपमेयर उमा थापा मगरले बताइन्।

कोहलपुर मेडिकल कलेजमा पनि ३ सय बेड पुर्‍याउने तयारी भइरहेको छ। दिनदिनै संक्रमितको संख्या थपिँदै गएपछि अस्पतालमा व्यवस्था गर्नै समस्या भएको हो।

अस्पतालको क्षमताले धान्नै नसक्ने भयावह अवस्था आएको र यो अवस्था केही समय कायम रहने अस्पतालको भनाइ छ।

यो पनिः 
अस्पतालमा रहेको कोही मर्ला र बेड पाइएला भन्ने अवस्थामा संक्रमित

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .