समाज


संक्रमितले भरियो अस्पताल, एकदमै डरलाग्दो अवस्था

संक्रमितले भरियो अस्पताल, एकदमै डरलाग्दो अवस्था

डा. अनुप बास्तोला
बैशाख ११, २०७८ शनिबार २:२०,

यो समय पक्कै बितेर जानेछ, तर ख्याल गरौं है– अहिले हामी कोरोना भाइरस संक्रमणको अत्यन्तै जोखिम अवस्थामा छौं। यो जोखिम सहजै टर्ने स्थिति छैन, जबसम्म तपाईं–हामी सचेत र चनाखो हुँदैनौं।

मोबाइलको घण्टी जति बज्छ, उति तनाव थपिन्छ। अधिकांश फोन, आईसीयू र भेन्टिलेटरको खोजीमा आउँछन्। तर, टेकु अस्पताल भरिसक्यो। थप बिरामी राख्ने सम्भावना न्यून छ। अब, वार्डबाट आईसीयूमा बिरामी सार्ने स्थिति छैन। रिफर गर्न अन्य अस्पतालमा खोज्दा बेड भेटिँदैन।

विगत एक वर्षअघिदेखि कोभिडका बिरामी हेर्दा यति जटिल अवस्था भोग्नुपरेन। अहिले, बिरामीमा सुधार हुने अनुपात पनि घट्दो छ। हामी एकदमै डरलाग्दो अवस्थाको संघारमा छौं। घरिघरि त लाग्छ, हामी उपचारमा खटेकै मान्छे ढल्यौं भने के होला अवस्था?

जताजतै खुला छ र कोरोना भाइरसको संक्रमण दिन दुई गुणा, रात चौगुणाका दरले बढ्दो छ। यो संक्रमणको फैलावट कहाँसम्म पुग्छ, अनुमान गर्न गाह्रो छ। अहिले बच्चा र युवा पनि उत्तिकै जोखिममा छन्, वृद्धवृद्धा र दीर्घरोगी त उसै पनि जोखिममै थिए।

हामीले कहिल्यै चेतेनौं। महामारीलाई साह्रै हलुका रूपमा लिनाले अहिलेको अवस्था आइपुगेको हो। यसबीचमा हामीले मापदण्डको पालना गर्नै बिर्सियौं। कोरोनाको पहिलो लहर शिथिल हुँदै गर्दा हामी फुक्काफाल भयौं। हामी सुस्तायौं, तर कोरोना भाइरस अझ संक्रामक भएर आयो।

संक्रमणको फैलावट यही गतिमा अघि बढे, बिरामीले उपचार नै नपाउने स्थिति आउन सक्छ, स्वास्थ्य सेवा डामाडोल हुन सक्छ। अस्पतालमा बेड नपाउने समस्या त छँदैछ, कुन उपचारले बिरामी निको हुनेछन् भन्ने अन्योल पनि उस्तै छ। कोरोना बाहेकका अन्य बिरामीको बिचल्ली हुने अवस्था छ।

कोभिडको अहिलेको लहरमा संक्रमितहरू सिकिस्त हुने अनुपात पहिलो लहरको तुलनामा बढी छ। एक्कासि बढेको सिकिस्त बिरामीको चाप कसरी थेग्ने भन्ने अन्योल छ। पहिलो लहरमा प्रभावकारी भएका औषधि र विधि अहिले कमजोर भएका छन्।

तत्काल कोरोना भाइरसको संक्रमणको फैलावट रोक्नु जरुरी छ। ‘चेन ब्रेक’ नगरी हामीले सम्हालिने मौका पाउने छैनौं। अहिले आईसीयूमा जति सिकिस्त बिरामी हुनुहुन्छ, त्यसले समुदायमा कति संक्रमित निर्धक्क घुमिरहनुभएको होला भन्ने अनुमान गर्न सकिन्छ।

कृपया, अब अत्यावश्यक कामबाहेक घरबाहिर निस्किएर आफूलाई र अरूलाई जोखिममा नपारौं। सुरक्षाका सबै मापदण्ड अपनाऔं। अहिले कसैलाई दोष दिएर केही हुनेवाला छैन। सकेसम्म सुरक्षित रहने कोसिस गरौं। यो डरलाग्दो समय बितेपछि खोजी गरौंला, हामी कहाँ–कहाँ चुक्यौं? 

(डाक्टर बास्तोला टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा कार्यरत छन्।)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad