विश्वको सर्वाेच्च शिखर सगरमाथाको बेस क्याम्पसमा पहिलोपटक कोरोना संक्रमण भएको आशंका गरिएकाे छ।
बेसक्याम्प स्रोतका अनुसार सगरमाथा आरोहणका लागि बेसक्याम्प पुगेको टोलीका एक सदस्यलाई कोरोना भाइरस 'पोजिटिभ' पाइएको हो।
आरोहण टोलीका ती सदस्यलाई सुरुमा हाइ अल्टिच्युड पल्मोनरी एडिमा (उच्च भूभागमा जाँदा देखिने स्वास्थ्य समस्या) भएको शंका गरिएको थियो।
तर काठमाडौं ल्याएर उनको स्वाब परीक्षण गर्दा कोरोना भाइरस रहेको पुष्टि भएको उक्त समाचारमा दाबी गरिएकाे छ।
एक साताअघि हेलिकप्टरबाट राजधानी ल्याइएका तीन आरोहीमध्ये एक जनामा कोरोना पोजिटिभ देखिएको हो। बाँकी २ जना सम्पर्कविहीन भएका छन्।
एक सदस्यमा संक्रमण देखिएपछि उनी संलग्न आरोहण टोली नै अहिले बेस क्याम्पमा क्वारेन्टिन बसेको बताइएको छ।
यो घटनासँगै सगरमाथा आरोहण, शेर्पा समुदायको अर्थाेपार्जन र स्वास्थ्य दुवैमा असर पार्ने देखिएको छ।
‘हामी अत्यन्तै चिन्तित भएका छौं,’ हिमालयन उद्धार संघका एक स्वयंसेवी डा. संगीता पौडेलले भनेकी छन्, ‘बेस क्याम्पमा कुनै प्रकोप फैलियो भने यो भूकम्पजस्तो स्थिति हुनेछ।’
यता विभागकी निर्देशक मिरा आचार्यले कुनै पनि आरोहीलाई अहिलेसम्म कोरोना पुष्टि नभएको बताएकी छिन्।
उनले नेपालखबरसँग भनिन्, ‘एक जना बिरामी भएर १५ तारिखमा काठमाडौं ल्याइएको हो, उहाँलाई चेक गराउँदा हस्पिटलले निमोनिया भएको भन्ने रिपोर्ट दिएको छ।’
बेसक्याम्पमा केहीलाई सामान्य स्वास्थ्य समस्या देखिएपछि अरुलाई समस्या नहोस् भनेर छुट्टै राखिएको उनको भनाइ छ।

प्रतिक्रिया