समाज


एसएलसीको मार्कसिटमा आफैँ नम्बर थपेर एमबीबीएस पढे, डाक्टर बनेपछि थुनामा

एसएलसीको मार्कसिटमा आफैँ नम्बर थपेर एमबीबीएस पढे, डाक्टर बनेपछि थुनामा

उजिर कार्की
बैशाख ६, २०७८ सोमबार १६:१४,

सप्तरीको विष्णुपुर गाउँपालिका २ का मोहमद सिद्दिकीलाई एमबीबीएस पढ्न एसएलसीको मार्कसिट बाधक बन्यो। अंक कम भएकै कारण उनले बंगलादेशमा एमबीबीएस पढ्न नपाउने भए। त्यसपछि उनले आफ्नो एसएलसीको मार्कसिट नै नक्कली तयार गरे। उनले जुन विषयमा जति आवश्यक हो त्यति नै थपेर एमबीबीएसका लागि मार्कसिट तयार गरे।

त्यही किर्ते प्रमाणपत्रका आधारमा बंगलादेशमा एमबीबीएस गरेर फर्किएका मोहमद न्युरो हस्पिटल विराटनगरको डाक्टर बने। तर, जागिर खाएपछि भने उनी प्रहरीको फन्दामा परेका छन्।

उनलाई आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अस्पतालबाटै पक्राउ ग¥यो। बंगलादेशको नियमअनुसार त्यहाँ एमबीबीएस पढ्न आवश्यक जीपीए नपुगेपछि मार्कसिटमा किर्ते गरेको पाइएको सीआईबी प्रमुख डीआईजी सहकुल थापाले बताए। यसरी किर्ते गर्ने सात जना डाक्टरलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको छ।

पक्राउ पर्नेमा अन्यमा महोत्तरी सरपल्लो–६ का २९ वर्षीय सुभाषप्रसाद साह, धनुषा सबैला–२ का २८ वर्षीय मोहम्मद साहिद राजा, मनाङको चामेका ३१ वर्षीय दीपेन्द्र गौतम, सप्तरीको शंकरपुरा–१ का ३१ वर्षीय अखिलेशकुमार देव, महोत्तरीको मनरा–५ की २७ वर्षीया पल्लवी सिंह र ललितपुर सानेपाका २९ वर्षीय फराज हुसेन खाँ छन्।

दीपेन्द्र गौतम चौरजहारी अस्पताल रुकुम पश्चिममा कार्यरत थिए भने मोहम्मद साहिद राजा दीर्घायु गुरु हस्पिटल चाबहिल र सुभाष साह जनकपुर चिल्ड्रेन हस्पिटल धनुषामा कार्यरत रहेको सीआईबीले जनाएको छ।

उनीहरुले कहाँ र कसरी नक्कली कागजात तयार गरे भन्ने अनुसन्धान सुरु भएको सीआईबीले जनाएको छ।

उनीहरुलाई बंगलादेश पठाउने कन्सलटेन्सी सञ्चालकलाई पनि सीआईबीले पक्राउ गरेको छ। बागबजारको ज्योतिदीप इन्टरनेसनल कन्सलटेन्सीका सञ्चालक जनकपुरका अरुण चौधरीलाई पनि सीआईबीले सोमबार पक्राउ गरेको छ। पक्राउ परेका डाक्टर एमबीबीएस पढ्न चौधरीकै कन्सलटेन्सी मार्फत बंगलादेश गएका हुन्।

‘उनीसँग सोधपुछ गर्न बाँकी छ, पक्राउ परेका डाक्टरले किर्तेमा चौधरीको संलग्नता भनेका छन्,’ सीआईबी प्रवक्ता एसपी गंगा पन्तले भनिन्, ‘अदालतबाट म्याद लिएर अनुसन्धान सुरु गरेका छौँ। कसको कस्तो संलग्नता छ, अब खुल्छ।’

पक्राउ परेका व्यक्तिले एसएलसीको शैक्षिक प्रमाणपत्रमा अंक, जन्ममिति र नाम समेत सच्याएको पाइएको डीआईजी थापाले बताए।

उनीहरुले किर्ते मार्कसिटकै आधारमा बंगलादेशमा एमबीबीएस अध्ययनका लागि नेपाल मेडिकल काउन्सिल बाँसबारीबाट स्वीकृती समेत लिएका थिए। पक्राउ परेका व्यक्तिलाई लिखतसम्बन्धी कसुरमा कारबाही अगाडि बढाउन जिल्ला अदालतबाट म्याद लिएको छ। अदालतले उनीहरुको कसुर ठहर गरे नेपाल मेडिकल काउन्सिलले लाइसेन्स समेत खारेज गर्नेछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .