नेपाल पत्रकार महासंघ गोरखापत्र प्रतिष्ठान शाखाको अध्यक्षमा सरोज ढुंगेल निर्वाचित भएका छन्।
सो प्रतिष्ठानमा बुधबार भएको मतदानमा ढुंगेल एक मत अन्तरले विजयी भएका हुन्।
कुल ५४ मत रहेको गोरखापत्र शाखामा ५३ मत खसेकोमा ढुंगेलले आफ्ना प्रतिस्पर्धी तुलसीहरि कोइरालालाई एक मत अन्तरले पराजित गरेका हुन्।
सो शाखामा अध्यक्षबाहेक अन्य सबै पदाधिकारी तथा सदस्यहरु भने निर्विरोध निर्वाचित भएको सो प्रतिष्ठानले जनाएको छ।
मतदानमा ढुंगेलले २७ मत प्राप्त गरेका थिए भने प्रतिस्पर्धी कोइरालाले २६ मत प्राप्त गरेका थिए।
शाखाको उपाध्यक्षमा पुरुषोत्तम खत्री, शिवामाया तामाङ (महिला), सचिवमा सविता शर्मा, सहसचिवमा अर्पणा अधिकारी, विनु श्रेष्ठ नगरकोटी (समावेशी), कोषाध्यक्षमा लक्ष्मी खतिवडा निर्विरोध निर्वाचित भएका छन्। विश्वास रेग्मी र अजिता रिजाल सदस्यमा निर्वाचित भएका छन्।
त्यसैगरी, सोहि शाखाबाट केन्द्रीय परिषद सदस्यमा कुमार विवेकानन्द मिश्र र राधा चालिसे निर्वाचित भएका छन् भने प्रदेश परिषद सदस्यमा नारदमुनी गौतम, दीपक श्रेष्ठ, नगेन्द्र सापकोटा र सीता शर्मा निर्वाचित भएका छन्।
निर्वाचन गर्नका लागि तीन सदस्यीय निर्वाचन कमिटी गठन गरिएको थियो। निर्वाचन संयोजकमा गोकर्ण अर्याल र सदस्यमा धातृप्रसाद सुवेदी र नारायण काफ्ले रहेका थिए।
नेपाल पत्रकार महासंघको केन्द्रीय, प्रादेशिक, जिल्ला र बिभिन्न प्रतिष्ठान तथा एसोसियट शाखाको नेतृत्व चयन गर्नका लागि बुधबार देशभर निर्वाचन भएको हो।
मुलुकभर सम्पन्न निर्वाचनको केन्द्र र प्रदेशको पदाधिकारी तथा सदस्यहरुको मतगणना बिभिन्न जिल्लामा बुधबार साँझ सुरु भएको छ भने केन्द्रीय कार्यालयमा भने बेलुका अबेरसम्म पनि सुरु गर्ने तयारी जारी थियो।
Shares

प्रतिक्रिया