समाज


विश्वमै सबैभन्दा बढी वायु-प्रदूषित सहर काठमाडौं, ‘अझै केही दिन मौसम सुध्रिने संकेत छैन’

विश्वमै सबैभन्दा बढी वायु-प्रदूषित सहर काठमाडौं, ‘अझै केही दिन मौसम सुध्रिने संकेत छैन’

नेपालखबर
चैत २४, २०७७ मंगलबार २:२३,

काठमाडौं फेरि विश्वमै सबैभन्दा बढी वायु प्रदूषणयुक्त सहर बनेको छ।

वायु प्रदूषणसम्बन्धी तथ्यांक अद्यावधिक गर्ने अन्तर्राष्ट्रिय संस्था आइक्यू एयरको सोमबार साँझको मापनअनुसार २५६ एक्यूआई (वायू प्रदूषण सूचकांक) सहित काठमाडौं विश्वकै प्रदूषित सहरको सूचीमा पहिलो नम्बरमा छ।

अझै केही दिन मौसम सुध्रिने संकेत छैन : मौसमविद् 
मौसम पूर्वानुमान महाशाखाका मौसमविद् राजु प्रधानांगका अनुसार वायु प्रदूषण घट्न मौसममा फेरबदल जरुरी हुन्छ। अहिले काठमाडौं उपत्यकाको वायु मण्डल स्थिर छ अर्थात् चलायमान छैन। जसले गर्दा चारैतिर पहाडले घेरिएको काठमाडौंका धूलकण, धुवाँलगायत प्रदूषित वायु बाहिरन पाएको छैन र प्रदूषण बढेको छ।

‘अझै दुई तीन यहाँको मौसम स्थिर नै रहने देखिएको छ,’ मौसमविद् प्रधानांगले मंगलबार बिहान नेपालखबरसँग भने, ‘यसले गर्दा उपत्यकामा अझै केही दिन वायु प्रदूषण बढ्ने देखिन्छ।’ 

मौसम पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा र बाँकी प्रदेशका पहाडी भेगका एक वा दुई स्थानमा मेघगर्जन/चट्टयाङसहित हल्का वर्षा हुने सम्भावना उल्लेख छ।

तर पहाडी भेगअन्तर्गत काठमाडौं उपत्यकामा भने वर्षाको सम्भावना नदेखिएको मौसमविद् प्रधानांगले बताए। ‘काठमाडौं उपत्यकाको आकाश अझै केही दिन धुम्म नै हुने देखिन्छ,’ उनले भने।

उनका अनुसार काठमाडौं उपत्यकाजस्ता देशका अन्य स्थानमा पनि तुलनात्मक रूपमा वायु प्रदूषण बढी हुन्छ।

मौसमविद्का अनुसार चैतका बेला गड्यागुडुङ, हावाहुरीसहित वर्षा हुनुपर्ने हो। तर यसपालि हिउँददेखि नै वर्षा एकदमै कम भएको छ। मौसम सुक्खा भएको छ।

जसले गर्दा मौसम गुम्सिएर बसेको छ भने वनजंगलका पातपतिङ्ग पनि थोरै आगो पर्नासाथ सल्किहाल्ने भएकाले अहिले देशभजस्तै ढडेलो बढेको छ। जसले गर्दा वायु प्रदूषण बढाएको विज्ञ बताउँछन्।

जबसम्म मौसममा अलि ठूलै फेरबदल आउँदैन, तबसम्म वायु प्रदूषण पनि घट्ने सम्भावना नहरेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बताउँछन्।

वातावरण विज्ञका अनुसार अहिले काठमाडौं उपत्यकासहित देशैभर वायु प्रदूषण बढेको छ।

यो पनि : प्रदूषण फेरि कहालीलाग्दो अवस्थामा पुगेको छ, तत्काल यी ११ काम गरौं

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad