समाज


जेलबाटै अन्तर्वार्ताः शोभराजले प्रशासनलाई फेरि दिए सास्ती

जेलबाटै अन्तर्वार्ताः शोभराजले प्रशासनलाई फेरि दिए सास्ती

उजिर कार्की
चैत २२, २०७७ आइतबार १६:२०,

१७ वर्षदेखि केन्द्रीय कारागारमा कैद फ्रान्सका कुख्यात अपराधी चार्ल्स शोभराज पुनः विवाद र चर्चामा तानिएका छन्। जेलभित्रैबाट विदेशी सञ्चारमाध्यमलाई अन्तर्वार्ता दिएको भन्दै केन्द्रीय कारागारमा छानबिन भएको छ।

शोभराजले परिवारसँग कुरा गर्ने बहानामा पत्रकारसँग कुरा गरेको वा परिवारले कुराकानी गरेर पत्रकारलाई दिएको निष्कर्षमा कारागार प्रशासन पुगेको छ। अनुसन्धानका क्रममा हालसम्म शोभराजलाई भेटेर वा टेलिफोनबाट अन्य व्यक्तिले कुरा गरेको नपाइएको केन्द्रीय कारागारका जेलर लक्ष्मीप्रसाद बाँस्कोटाले नेपालखबरलाई बताए।

‘कारागार व्यवस्थापन विभाग र गृह मन्त्रालयमा मैले यही जानकारी दिएको छु। सीसी क्यामरा चेक गर्‍यौँ, सोधपुछ गर्‍यौँ, अरु कारण देखिएन,’ बाँस्कोटाले भने।

केन्द्रीय कारागारभित्र ४० वटा ल्यान्डलाइन फोन छन्। कारागारमा मोबाइल र इन्टरनेट चलाउन प्रतिबन्ध छ। कैदी बन्दीहरुले आफन्तसँग कुरा गर्नु परे यिनै फोनमा पालो गर्छन्। फोन गरेको खर्च उनीहरु आफैँले बेहोर्नुपर्छ।

एक जना कैदीले हप्तामा दुईदेखि तीन पटकसम्म फोन गर्न पाउने बाँस्कोटा बताउँछन्। फोनमा कुरा गर्नु परे को सँग, कुन नम्बरमा कुरा गर्ने हो, एक दिन पहिले नै प्रशासनबाट अनुमति लिनुपर्छ।

चाल्र्स शोभराज पनि बेलाबेला फोन गरिरहन्छन्। प्रायः उनले श्रीमती, छोरी र साथीसँग कुरा गर्ने भन्दै अनुमति मागेका छन्। श्रीमती र छोरीसँग फ्रान्सेली भाषामा कुरा गर्छन् भने अरुसँग अंग्रेजीमा।

कैदी बन्दीको टेलिफोन संवाद पनि सुरक्षा निकायको विशेष निगरानीमै हुन्छ। शोभराज त त्यसै पनि विवादित पात्र हुन्। उनीमाथि कारागार प्रशासनले थप निगरानी गर्नै पर्ने हो।

‘जेलको सुरक्षामा असर गर्ने, संगठित अपराध र देशको सुरक्षामा असर गर्ने कुरा हुन्छन् कि भनेर हामीले ध्यान दिने नै भयौँ, अरु कुरा त पारिवारिक के बोल्छन् त्यो सबै निगरानी गर्ने कुरा पनि भएन,’ जेलर बाँस्कोटा भन्छन्, ‘त्यसमाथि विदेशीले आफ्नो परिवारसँग गर्ने कुरामा कमै चासो हुने भयो।’

शोभराजको अन्तर्वार्ता विदेशी सञ्चारमाध्यममा बाहिरिएपछि भोलिपल्टै गृह मन्त्रालयले तत्काल कारागार व्यवस्थापन विभागलाई यसबारे बुझ्न लगायो। विभागले कारागार जेलर बाँस्कोटालाई सोध्यो।

अन्तर्वार्तामा शोभराजले आफूलाई फसाइएको र आफू चाँडै छुट्न लागेको बताएका छन्। उनले आफूलाई लिन आउन समेत भनेका छन्।

तर बास्कोटाका अनुसार एक वर्षदेखि शोभराजलाई भेट्न कोही पनि कारागार पुगेका छैनन्।

नेपालमा अमेरिका र क्यानडाकी महिलाको हत्या गरेको अभियोगमा शोभराज २०६० सालदेखि केन्द्रीय कारागार सुन्धारामा छन्। उनीविरुद्ध अदालतले जन्म कैदको फैसला गरेको छ। अदालतको उक्त फैसला अनुसार उनी २०८० सालमा छुट्ने भए पनि उनीविरुद्ध कर्तव्य ज्यानसम्बन्धी उद्योगको अर्को मुद्दामा थप ५ वर्ष कैदमा राख्न अदालतले आदेश दिइसकेको छ।

तर पहिलेको कानुनी व्यवस्थाअनुसार अधिकतम २० वर्ष सजाय हुने भएकाले अदालतले हद जारी गरे उनी ८० सालमा जेलमुक्त हुने सम्भावना छ।

शोभराज यसअघि पनि पटक पटक विवाद र चर्चामा आएका थिए। नेपाली युवतीसँग जेलभित्रै २०६५ सालको दशैँमा विवाह गरेर चर्चामा आएका शोभराजले पछि अस्पताल जान विशेष सुरक्षा फोर्स माग गरे।

कहिले उनले कारागार प्रशासनसँग कैद मिनाहाका लागि माग गर्छन्। अस्पताल जान समेत सुरक्षा चुनौती देखाएर मान्दैनथे। उनको व्यवहारले कारागार प्रशासनलाई हैरान पारेको थियो।

केन्द्रीय कारागारमा हाल करिब २ सय विदेशी कैदीबन्दी छन्। तीमध्ये आधाजति भारतीय हुन्। बाँकी चीन, बंगलादेश, पाकिस्तान, अफ्रिका र युरोपका केही छन्। तर, ती सबैभन्दा हाइप्रोफाइल हुन् शोभराज। उनको व्यवहार पनि त्यस्तै अप्ठेरो छ।

कानुनअनुसार जेष्ठ नागरिकलाई कैद छुट दिने व्यवस्था छ। तर, त्यस्तो छुट नेपाली नागरिकले मात्रै पाउने भएकाले ७७ वर्षीय शोभराजले पुरै कैद भुक्तान गर्नुपर्ने छ। उनले भने पटकपटक कारागार प्रशासनमा कैद छुटका लागि निवेदन दिइसकेका छन्।

कारागारको गोलघरमा रहेका उनी कुख्यात भएका कारण थप निगरानीमा छन्। भाग्न सक्ने र जेलभित्रैबाट अपराधिक गतिविधि गर्न सक्नेहरुलाई गोल घरमा राखिन्छ। यसअघि पनि उनको साथमा मोबाइललगायतका विद्युतीय सामग्री भेटिएको थियो।

मुटुमा समस्या देखिँदा विशेष फोर्स खटाउन माग गर्दै उनले केही समय उपचार नै गराएनन्। पहिले गंगालाल अस्पतालमै उनको मुटुको भल्भ फेरिएको थियो।

अब शोभराजमाथि निगरानी बढाइने जेलर बाँस्कोटाले बताए।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .