समाज


बाग्मती प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्‍न

बाग्मती प्रदेशस्तरीय भूतपूर्व सैनिक सम्मेलन सम्पन्‍न

नेपालखबर
चैत २२, २०७७ आइतबार ११:३३,

सैनिक कल्याणकारी बोर्डको संयोजकत्व तथा नेपाली सेनाको व्यवस्थापनमा बाग्मती प्रदेशका भूतपूर्व सैनिक तथा निवृत्तभरणमा रहेका परिवारजनको सहभागितामा प्रदेश स्तरीय ‘भूपु सैनिक सम्मेलन–२०७७’ सम्पन्न भएको छ।

‘शिक्षा, स्वास्थ्य, सुविधा र स्वरोजगार–आत्म सम्मान तथा समृद्धिको आधार’ भन्‍ने मूल नाराका साथ मकवानपुरको हेटौंडास्थित श्री मध्य पृतना हेडक्वाटरमा सम्मेलनको आयोजना गरिएको हो।

राष्ट्रिय गान, विरगति प्राप्त गर्नेहरुको सम्झनामा मौनधारण, कल्याणकारी बोर्डका कार्यकारी अधिकृतबाट स्वागत मन्तव्य तथा प्रधान सेनापतिबाट दिप प्रज्वलन गरी सुरु भएको सम्मेलनमा बाग्मती प्रदेशको ८ जिल्लाहरुमा बसोबास गर्ने ७,४३६ जना नेपाली सेनाका भूतपूर्व सैनिक तथा परिवारजनको सहभागिता रहेको थियो।

army-samman6.JPG

सम्मेलनलाई सम्बोधन गर्दै प्रधान सेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको संस्थागत मूल्य र मान्यताहरुलाई जीवन्त राख्‍न अवकाश प्राप्त अग्रज सैनिकहरूले गरेको निःस्वार्थ सेवा तथा भूमिकाको प्रशंसा गर्दै यस प्रकारको कार्यक्रमले भूपू तथा बहालवाला सैनिकहरुबीच सामिप्यता बढाउन महत्वपूर्ण भूमिका खेल्नुका साथै सैनिक कल्याणकारी कोषका हिताधिकारीहरुको पिरमर्का सम्बोधन तथा व्यवस्थापनको लागि उत्तम माध्यमको रुपमा प्रभावकारी रहेको बताएका थिए।

सम्बोधनकै क्रममा उनले ‘नेपाली सेनाको कल्याणकारी कार्यसम्बन्धी दीर्घकालीन योजना २०८७’ कार्यान्वयन भएको उल्लेख गर्दै भूपूहरुको आर्थिक समुन्नति, प्रगति र अवकाश पछिको सुखमय जीवनको समुचित व्यवस्थापन हुनु भनेकै सिङ्गो नेपाली सेनाको आधारस्तम्भ बलियो हुनु हो भने। अवकाशप्राप्त गरी सकेपछि पुनः रोजगारीको लागि विदेशिने अवस्थाको अन्त्य गरि स्वेदशमा नै स्वरोजगारीका अवसरहरु सृजना गरी परिवारसँगै सुखमय जीवनयापनको लागि नेपाली सेनाले सैनिक कल्याणकारी गतिविधीहरुलाई विविधीकरण गरी सर्वसुलभ बनाउन अधिकतम प्रयास गर्दै आएको उनले बताए।

कार्यक्रममा जेष्ठ भूतपूर्व सैनिक थाहा नगरपालिका वडा नं. ३ पालुङ्ग, मकवानपुर निवासी वर्ष ९८का पुरानो गोरख गणबाट अवकास प्राप्त सुवेदार गजेन्द्रबहादुर कार्की र शम्शेर दल गणबाट अवकास प्राप्त स्वर्गिय सिपाही नन्दप्रसाद पाल्याकी श्रीमती वर्ष १०३ कि जेष्ठ एकल महिला श्रीमती गोमा ढकाललाई सम्मान गरिएको थियो।

army-samman7.JPG

यस्तै, सर्वोत्कृष्ट लघु व्यवसायी बन्‍न सफल नुवाकोट जिल्ला विदुर नगरपालिका-६ निवासी ‘आकुँ कृषि फर्म’ का सञ्चालक राजकुमार आचार्य र उत्कृष्ट लघुउद्यम व्यावसायी चितवन जिल्ला भरतपुर महानगरपालिका–१५ निवासी ‘न्यौपाने एकीकृत कृषि फर्म’ का सञ्चालक टोकनाथ न्यौपानेकी श्रीमती शुशिला न्यौपानेलाई सम्मान गरिएको थियो।

उक्त समारोहमा ४ वा सो भन्दा बढी सन्ततिहरुलाई नेपाली सेनामा सेवा गर्न अभिप्रेरित गर्ने १० जना आमा तथा बुवाहरुलाई सम्मान, फरक क्षमता भएका तथा असक्त ४९ जनालाई व्हिल चियर, वैशाखी र आर्थिक सहयोग प्रदान गरिनुका साथै लघुबित्त कार्यक्रम अन्तर्गत महिला उद्यमशिल कर्जा प्राप्त गर्ने ऋणीहरुलाई चेक हस्तान्तरण गरिएको थियो। उक्त अवसरमा प्राथमिकताको आधारमा कोभिड–१९ को भ्याक्सिन समेत प्रदान गरिएको थियो।

army-samman8.JPG

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad