बागलुङमा होली खेल्ने क्रममा झडपमा परी ज्यान गएको घटनामा ८ जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ परेका व्यक्ति शुक्रबार सार्वजनिक गरेको छ। उनीहरुलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।
पक्राउ पर्नेमा बागलुङ बडिगाड गाँउपालिका १० दर्लिङका २८ वर्षीय रेशम बुढा मगर (बागलुङबाट), २३ वर्षीय मिलन बुढा (गुल्मीबाट), २४ वर्षीय रेशम भन्ने भेषराज बुढा (गुल्मीबाट) २३ वर्षीय कुमार छन्त्याल (रुपन्देहीबाट), ३३ वर्षीय झनबहादुर बुढा (बागलुङबाट) पक्राउ परेका छन्।
यस्तै सोही ठाउँका तीर्थलाल बुढा, ३१ वर्षीय सूर्य बुढा र ४६ वर्षीय ढालबहादुर बुढा बागलुङबाट पक्राउ परेका छन्।
पक्राउ परेका व्यक्तिको बयानका आधारमा अन्य व्यक्तिको समेत खोजी भइरहेको प्रहरीले जनाएको छ।
चैत १५ गते होली खेल्ने क्रममा विवाद हुँदा बडिगाड गाँउपालिका १० दर्लिङस्थित बल्देधुरीमा दुई पक्षबीच झडप भएको थियो। त्यसक्रममा दुई जनाको ज्यान गएको थियो।
होली पर्व मनाउनका लागि गुल्मी, बागलुङ, प्युठान लगायत स्थानका मान्छे भेला भएका थिए।
बडिगाड गाँउपालिका १० दर्लिङ र निसीखोला ७ राजकुटको युवाहरुबीच कुटाकुट हुँदा प्रकाश कुँवर र दीपक परियारको ज्यान गएको थियो।
कुटपिटका क्रममा घाइते भएका उनीहरुलाई बल्देधुरीको पुर्वपट्टीको डिलबाट करिव ४ सय मिटर तल खसाल्दा मृत्यु भएको प्रहरीले जनाएको छ।
घटना सम्बन्धमा थप अनुसन्धान कार्य भई रहेको बाग्लुङ प्रहरीले जानकारी दिएको छ।

प्रतिक्रिया