समाज


महानगर र सिसडोलबासीबीच सहमति, उपत्यकाको फोहोर आजदेखि उठ्ने

महानगर र सिसडोलबासीबीच सहमति, उपत्यकाको फोहोर आजदेखि उठ्ने

नेपालखबर
चैत २०, २०७७ शुक्रबार १०:२५,

काठमाडौं उपत्यकाको फोहोर आज (शुक्रबार) देखि उठने भएको छ। काठमाडौं महानगरपालिकाले ल्याण्डफिल्ड साइट सिसडोल क्षेत्रका स्थानीयको माग पूरा गर्ने भएपछि आजदेखि फोहोर उठ्ने भएको हो।

शुक्रबार काठमाडौं महानगरपालिका र सिसडोल क्षेत्रका आन्दोलनरत स्थानीय बासिन्दा र जनप्रतिनिधिबीच सात बुँदे सहमतिपत्रमा हस्ताक्षर भएपछि भने फोहोर बिसर्जनमा गरिएको अवरोध हटेको छ।

नुवाकोट ककनी गाउँपालिका सिसडोल क्षेत्रका स्थानीय बासिन्दाले फोहोरमैला प्रभावित क्षेत्र शिक्षक व्यवस्थापन संघर्ष समिति बनाई विभिन्न माग राख्दै चैत्र १३ गते देखि फोहोर बिसर्जनमा अवरोध गर्दै आएका थिए।

काठमाडौं महानगरपालिका वातावरण विभाग प्रमुख हरि श्रेष्ठले सिसडोलबासिले राखेको शिक्षा र स्वास्थ्य सम्बन्धी मागहरु महानगरपालिकाले पुरा गर्ने सहमति भएको बताए। यस्तै रोजगारी, विकास निर्माण लगायतका मागहरु सम्बन्धमा पनि काठमाडौं महानगरपालिकाले बजेट उपलब्ध गराउने सहमति भएको पनि उनले बताए।

ककनी गाउँपालिका अन्तर्गत रहेका विद्यालयहरुका लागि ४६ जना र धुनिबेसी नगरपालिकाका लागि ५ जना तहगत र विषयगत दरबन्दीमा सम्बन्धित गाउँपालिका र नगरपालिकाले करार सेवामा शिक्षक नियुक्त गर्ने र शिक्षक नियुक्ति भएपछि सो बापतको पारिश्रमिक नेपाल सरकारले तोकेको स्केल बमोजिमको रकम काठमाडौं महानगरपालिकाले उपलब्ध गराउने सहमति भएको छ।

करार सेवामा नियुक्त हुने शिक्षकहरुको दरबन्दीमा स्थायी शिक्षक नियुक्त भएपश्चात काठमाडौं महानगरपालिकाले शिक्षक पारिश्रमिक वापत उपलब्ध गराउने रकम स्थगन गर्ने सहमति पनि भएको छ। यस्तै स्वास्थ्य उपचारको दिगो व्यवस्थापनका लागि उपयुक्त योजना सम्बन्धमा बृहत्तर छलफल गरी आपसी छलफलबाट १० दिन भित्रमा निष्कर्षमा पुग्ने सहमति पनि भएको छ।

बन्चरेडाँडा ल्याण्डफिल्ड साइटमा फोहोरमैला बिसर्जन शुरु भएपछि हालको सिसडोल ल्याण्डफिल्ड साइटको पोष्ट क्लोजरको कार्य प्राविधिक सिफारिस बमोजिम काठमाडौं महानगरपालिकाले तत्काल शुरु गर्ने सहमति पनि भएको छ।

यस्तै फोहोरमैला अतिप्रभावित र प्रभावित क्षेत्रका वडाहरुलाई प्राथमिकताका आधारमा भौतिक पूर्वाधार विकास र अन्य विकासका लागि धुनीवेशी नगरपालिका र ककनी गाउँपालिकालाई आर्थिक वर्ष २०७८-०७९ देखि वार्षिक बजेट नीति तथा कार्यक्रममा काठमाडौं महानगरपालिकाले एकमुष्ठ तीनतीन करोड रुपैयाँ विनियोजन गर्ने सहमति पनि भएको छ।

फोहोरमैला प्रभावित क्षेत्रमा स्थानीय बासिन्दाहरुको स्वास्थ्य सेवा सहजताको लागि सहयोग गर्ने क्रममा धुनीवेशी नगरपालिकालाई काठमाडौं महानगरपालिकाले एक थान एम्बुलेन्स खरिद गरी उपलब्ध गराउने भएको छ। उपत्यकाको फोहोर व्यवस्थापनमा भएको आवरोध हटाई आजैका मितिबाट फोहोर व्यवस्थापन सूचारु गर्ने सहमति पनि भएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad