एक महिनादेखि बेपत्ता महोत्तरीको पीपराका झा दम्पतीको अवस्था पत्ता लगाउन प्रहरीले ४२ वटा पोखरीमा ‘सर्च’ गरेको थियो। पीपरा आसपासका पोखरीमा कुनै सामानमा बाँधेर शव डुवाइएको हुन सक्ने आशंकाले पोखरीमा सर्च गरेको प्रदेश २ का प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहले बताए।
‘सुतेकै ठाउँबाट ओछ्यानसहित बेपत्ता भएका दम्पती जीवित नरहेको आशंकासहित हामीले तीन वटा विषयमा अनुसन्धान केन्द्रित गरेका थियौं’, नेपालखबरसँग कुरा गर्दै डीआईजी सिंहले भने, ‘हामीलाई कि पोखरीमा डुबाइएको छ, कि इटा भट्टामा र कि त नयाँ सडकमा पुरिएको हुनसक्छ भन्ने थियो।’
प्रहरीले खोजीका क्रममा पीपराका तीन वटा पोखरीको पानी नै सुकाएको थियो भने ४२ वटामा जाल र र्याफ्टिङ (बोट)बाट खोजेको थियो।
झा दम्पतीको शव भेटिएको स्थलयस्तै प्रहरीले महोत्तरीका ८ वटा इटाभट्टामा पनि खोजी गरेको डीआईजी सिंहले बताए। ‘बिहीबार पीपरा गाउँपालिकाको वडा नं २ स्थित अतरा जाने बाटोको एक ठाउँ अलि फराकिलो देखियो, भर्खरै खनिएको पनि रहेछ, त्यहाँ आशंका लागेर खनेका थियौं, दुई वटा शव फेला पर्यो’, डीआईजी सिंहले भने।
कंकाल भेटिएकै ठाउँमा झा दम्पतीको लुगालगायतका सामानहरु समेत भेटिएका छन्। शव गाडिएको स्थानको सडक केही समय पहिले मात्रै खनिएको थियो।
गत फागुन ११ गते राति पीपरा गाउँपालिका–५ सहोडकाबाट ६६ वर्षीय मुसाफिर झा र उनकी श्रीमती ६० वर्षीया गीता देवी ओछ्यानसहित बेपत्ता भएका थिए।
झा दम्पतीको शव खोज्न प्रहरीले पोखरीको पानीको सतह समेत घटाएको थियो।पीपरा बजारबाट अतरा जाने बाटोको डाईभर्सन भएको ठाउँमा शव भेटिएको प्रहरीले जनाएको छ। दुवै जनाको शव एकै ठाउँमा भेटिएको हो।
झा दम्पतीलाई बेपत्ता पारेको आशंकामा केही दिनअघि ३ छिमेकीसहित चारजनालाई जिल्ला प्रहरी कार्यालय महोत्तरीले पक्राउ गरी सार्वजनिक गरेको थियो।
पीपरा गाउँपालिका ५ का ५२ वर्षीय रामबाबु यादव, उनका छोराद्वय २६ वर्षीय सुरेन्द्र यादव र २४ वर्षीय राजेन्द्र यादव तथा भारत विहारको मधुवनी घर भइ महोत्तरीकै बनौलीमा बस्दै आएका हरेन्द्र ठाकुरलाई प्रहरीले सार्वजनिक गरेकाे हाे।
तर, उनीहरुले भने घटनामा आफूहरुको संलग्नता स्वीकार गरेका छैनन्।
शव निकालेर परीक्षणका लागि लैजाँदै प्रहरीप्रहरीले भने आफ्नो अनुसन्धानबाट उनीहरुकै संलग्नता देखिएको आरोप लगाउँदै आएको छ।
भिडिओ:
Shares

प्रतिक्रिया