समाज


ढोरपाटनमा दोस्रो सिजनको शिकार सुरु

ढोरपाटनमा दोस्रो सिजनको शिकार सुरु

नेपालखबर
चैत १२, २०७७ बिहिबार ६:८,

विदेशी साहसी शिकारीको रोजाइमा पर्ने नेपालको एक मात्र शिकार आरक्ष ढोरपाटनमा दोस्रो सिजनको शिकार सुरु हुने भएको छ।

कार्तिक र चैतमा गरेर दुई सिजनमा यहाँ सिकार हुन्छ। अघिल्लो वर्षदेखि कोरोना संक्रमण र लकडाउनले अलपत्र परेको शिकार यो वर्षको पहिलो सिजनमा पनि सुरु हुन सकेको थिएन।

यो पटक आठ वटा नाउर र चार झारलको शिकार हुन लागेको आरक्षका प्रमुख संरक्षण अधिकृत वीरेन्द्र कँडेलले जानकारी दिए। हरेक वर्ष कार्तिक र चैतमा दुई सिजन शिकार खुल्ने गरेको छ। चालु वर्षको दोस्रो सिजनका लागि स्पेनका तीन, अमेरिकाका एक, रसियाका एक, युक्रेनका एक र फ्रान्सका दुई गरी आठ शिकारीले शिकार गर्ने छन्।

राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले १० नाउर र छ झारलको लागि खुलाएको बोलपत्र आह्वानमा सोचेभन्दा थोरै शिकारी आएको आरक्ष कार्यालयले जनाएको छ। शिकारी आउने देशमा अझै कोरोना संक्रमणको समस्याले थोरै आएको अनुमान गरिएको छ। आएका शिकारीलाई आरक्ष कार्यालयले ब्लकअनुसारको क्षेत्र तोकेर पठाउने काम गर्ने सहायक संरक्षण अधिकृत सूर्य खड्काले बताए।

आरक्षका अनुसार ग्लोबल सफारिज नेपालले तीन नाउर र एक झारल, नेपाल ट्राभल्स एक्सपिडिसन प्रालिले चार नाउर र दुई झारल, हिमालयन सफारिजले एक झारल र एक नाउर शिकार गर्न पाउने अनुमति लिएका हुन्। विश्वव्यापी कोरोनाले शिकार प्रभावित भएको ग्लोबल सफारिज नेपाल प्रालिले जनाएको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ को दफा ११ अनुसार कुनै पनि व्यक्तिले शिकार अनुमतिपत्र लिएर शिकार खेल्न पाउने व्यवस्था छ।

विभागले तोकेअनुसारको राजस्व बुझाउने र हतियार चलाउन सक्ने लाइसेन्ससमेत भएको व्यक्तिले मात्र शिकार अनुमतिपत्र लिन पाउने व्यवस्था छ।

नेपाली र विदेशी जुनसुकै नागरिकले पाउने भए पनि अहिलेसम्म विदेशी शिकारीले मात्रै अनुमति लिएर शिकार गरिरहेका छन्। स्थानीय सहयोगीका रूपमा भने उनीहरूले बागलुङलगायत विभिन्न क्षेत्रका व्यावसायिक शिकारीलाई साथ लिने गरेका छन्।

ढोरपाटनमा शिकार गरेपछि अधिकांश शिकारीले मासु खाएर सिङ, खुर र छाला मात्रै आफ्नो देशमा लैजान्छन् । अन्तर्राष्ट्रिय तहमा हुने प्रतियोगितामा उनीहरूले सिङको प्रतिस्पर्धा गरेर ट्रफी जित्ने गरेका छन्। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad