प्रहरीले मानव बेचविखन तथा ओसारपसार मुद्दाका एक फरार आरोपीलाई २८ वर्षपछि पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भक्तपुरको चाँगुनारायण नगरपालिका–८ जितपुर बस्ने रामशरण पण्डित भन्ने ६८ वर्षीय रामशरण पण्डित क्षेत्री रहेका छन्।
विभिन्न मिति र समयमा साउदी अरबमा १२ वर्ष तथा नेपालका विभिन्न ठाउँहरूमा लुकिछिपी बसेका क्षेत्रीलाई घटनाको २८ वर्षपछि सोमबार प्रहरीले पक्राउ गरेको हो।
रामशरणले आर्थिक अवस्था कमजोर भएका २ जना महिलालाई काठमाडौं कलंकीबाट वीरञ्गजको रक्सौल नाका हुँदै मुम्बई पुर्याई कोठी सञ्चालिकाहरूकोमा बेचेको प्रहरीले जनाएको छ। उनले ती महिलालाई विभिन्न व्यक्तिहरूसँग भेट गराई भारतको महाराष्ट्रमा हिरा पाउँछ, महिलाले लुकाई नेपाल ल्याउँदा पक्राउ पर्दैन, बाटोमा लाग्ने सबै खर्च हामीले व्यहोर्छौँ र हिरा ल्याए वापत जनही ६ हजार रूपैयाँका दरले ज्याला दिनेछौँ भनि प्रलोभनमा पारेका थिए।
महिलाहरु लामो समयपछि मुम्बई प्रहरीको सहयोगमा उद्दार भई नेपाल फिर्ता भएपछि २०४९ भदौ १२ गते तत्काल जिल्ला प्रहरी कार्यालय काठमाडौंमा जाहेरी पेश गरेका थिए। हालसम्म फरार रहेका पण्डितलाई प्रहरी प्रधान कार्यालय मानव बेचविखन अनुसन्धान ब्यूरो बबरमहल काठमाडौंबाट खटिएको प्रहरीले पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको उक्त ब्यूरोले जनाएको छ।
Shares

प्रतिक्रिया