विश्व स्वास्थ्य संगठनले कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोपमा आवश्यक स्वास्थ्यसम्बन्धी अनुसन्धान गरेको तर त्यस्तो कुनै पनि खराबी भने नदेखिएको बताएको हो।
यस खोपका विषयमा विश्व स्वास्थ्य संगठनका विज्ञहरु सम्मिलित समूहले अनुसन्धान गरेकोमा त्यस्तो स्वास्थ्य सम्बन्धी खराबी नदेखिएकोले सो खोप सुरक्षित रहेकोले लगाउन विश्वका देशहरुलाई आग्रह गरिएको छ।
यो खोप लगाएका व्यक्तिमा रगत जम्ने समस्या देखिएको भनेर विश्वव्यापी रुपमा प्रचार गरिएको छ। जसका कारण विश्वका कतिपय देशले त यो खोपमाथि प्रतिबन्ध पनि लगाएका छन्।
रगत जम्ने सम्भावित आशङ्कालाई लिएर युरोपदेखि एसिया र दक्षिण अमेरिकाका विभिन्न मुलुकले अस्ट्राजेनिका खोप लगाउन रोकेका थिए।
उता युरोपेली नियामक निकायले खोप सुरक्षित र प्रभावकारी रहेको भनाइ हालै मात्र सार्वजनिक गरेको थियो।
त्यसलगत्तै स्पेन, इटाली, नेदरल्यान्ड्स्, पोर्चुगल, लिथुआनीया, लाटभिया, स्लोभेनिया र बुल्गेरीयाले भने खोप अभियान पुनः शुरु गर्ने बताएका छन्।
यता पछिल्लो समयमा भाइरसको संक्रमण बृद्धि भएका कारण निकै समस्यामा परेको फ्रान्स र जर्मनीमा पनि शुक्रबारदेखि कोभिड–१९ विरुद्धको अस्ट्राजेनिका खोप लगाउन पुनः शुरु भएको छ।
युरोपेली नियामक निकायले अस्ट्राजेनिका खोप सुरक्षित रहेको जनाउँदै खोप लगाउने प्रक्रिया पुनः शुरु गर्न युरोपेली मुलुकहरुसमक्ष आग्रह गरेको थियो। रासस/सिन्ह्वा
Shares
प्रतिक्रिया