बर्दिया राष्ट्रिय निकुञ्जको प्राविधिक टोलीले बुधबार साँझ एउटा नरभक्षी पाटे बाघलाई नियन्त्रणमा लिएको छ।
निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने गेरुवा गाउँपालिका ४ को ड्याङपुर सामुदायिक वन क्षेत्रबाट डार्ट गरेर पाटेबाघलाई नियन्त्रणमा लिएइएको निकुञ्जका प्रमुख संरक्षण अधिकृत विष्णुप्रसाद श्रेष्ठले जानकारी दिए।
बर्दिया राष्ट्रिय निकुञ्ज र त्यस आसपासका क्षेत्रमा केही समययता बाघले दिनहुँजसो मानिस र पशुचौपायालाई आक्रमण गर्दै आएको छ। बाघको आक्रमणमा परेर गएको एक वर्षमा बर्दियामा मात्रै १० जनाले ज्यान गुमाइसकेका छन्।
मंगलबार मात्रै बर्दियाको ठाकुरबाबा नगरपालिका ७ मोहनपुर कि ५५ वर्षीया डल्ली रावतलाई बाघले आक्रमण गरी मारेको थियो। घर नजिकैको जंगलमा निगुरो (तरकारी) टिप्न गएको बेला उनलाई बाघले आक्रमण गरेको हो।
निकुञ्जको तीन वटा हात्ती र प्राविधिक सहितको टोलीले बुधबार साँझ गेरुवा क्षेत्रबाट नरभक्षी बाघलाई नियन्त्रणमा लिएको हो। नियन्त्रणमा लिइएको भाले बाघ बुढो र बिरामीसमेत रहेको श्रेष्ठले बताए। ‘बाघको खुट्टामा चोट छ, केही दाँत समेत झरेका छन्,’ उनले भने।
पाटेबाघले आक्रमण गरेर मान्छेको ज्यान लिन थालेपछि निकुञ्जको प्राविधिक टोलीले केही समयदेखि बाघको अनुगमन गर्दै आएको छ। यसअघि पनि बर्दियाको गेरुवा क्षेत्रबाट निकुञ्जको टोलीले एउटा नरभक्षी बाघलाई नियन्त्रणमा लिएको थियो।
यो पनि बर्दियामा फेरि बाघको आक्रमण : एक महिला बेपत्ता, दुई जनाले भागेर ज्यान जोगाए

प्रतिक्रिया