अँगालो मारेर अनुशासन उल्लंघन गरेको आरोपमा पाकिस्तानको लाहोर विश्वविद्यालयले आफ्ना एक जोडी विद्यार्थी (छात्र र छात्रा) निष्कासन गरेपछि सामाजिक सञ्जाल तात्तिएको छ।
सबै विद्यार्थीका सामुन्ने एक छात्रले छात्रालाई फूल दिँदै अंकमाल गरेपछि विश्वविद्यालयले दुवैलाई निष्कासन गरेको हो।
यसैका पक्ष र विपक्षमा ट्विटरमा बहस भइरहेको हो। घटनाबारे पाकिस्तानका मात्र होइन, अन्य मुलुकका ट्विटर प्रयोगकर्ताले समेत प्रतिक्रिया जनाइरहेका छन्।
वकिल जैनाब मजारी हाजिरले लेखेका छन्, ‘यस देशका विश्वविद्यालय यौन हिंसा, भीड हिंसा, खुफिया क्यामेरा (विद्यार्थीलाई ब्ल्याकमेल गर्ने) व्यक्तिप्रति मौन बस्छन्, तर प्रेम गर्ने जोडीलाई कारबाही गर्छन्।’
पाकिस्तानका धेरै विश्वविद्यालयमा शिक्षक तथा कर्मचारीबाट छात्रालाई यौन हिंसा हुने गर्छन्।
विशेषगरी पाकिस्तान क्रिकेटबारे कुरा गर्ने क्रिकेट विश्लेषक डेनिस फ्रिड्म्यानले ट्विटरमा आफ्नो नाम परिवर्तन गरेर डेनिस लाहोर विश्वविद्यालय राखेका छन्।
जसमा एक जनाले जवाफ फर्काएका छन्, ‘विश्वविद्यालय विवाह ब्युरो होइनन्, त्यसैले विश्वविद्यालयलाई आफ्नो काम गर्न दिऊँ।’
फेरि डेनिसले भनेका छन्, ‘ठीक छ, क्याम्पसमा खाना खानु हुँदैन, किनकि विश्वविद्यालय रेस्टुराँ होइन।’
अफजल खान जमालीले ट्विट गरेका छन्, ‘यहाँ बच्चालाई बलात्कार गर्न सकिन्छ, मार्न सकिन्छ, शोषण गर्न सकिन्छ, तर जब प्रेमको कुरा आउँछ, मान्छे भन्छन्– यो इस्लामिक रिपब्लिक अफ पाकिस्तान हो, सार्वजनिक रूपमा प्रस्ताव गर्दा के गल्ती भयो?’
एजाज अलीले लेखेका छन्, ‘यो देख्दा धेरै दुःख लाग्छ, एक जवान जोडीलाई एउटा सानो आरोपमा विश्वविद्यालयबाट निकालिएको छ, मलाई आशा छ– लाहोर विश्वविद्यालयले निर्णय फिर्ता लिनेछ।’
याे पनि : जब छात्राले छात्रलाई घुँडा टेकेर फूल दिँदै अँगालो हालिन्...

प्रतिक्रिया