भारतका उद्योगपति मुकेश अम्बानीको घरबाहिर विस्फोटक पदार्थ हालेर राखिएको स्कार्पियो गाडी फेला परेको घटनाले नयाँ मोड लिएको छ।
भारतीय अंग्रेजी पत्रिका इन्डियन एक्सप्रेसका अनुसार पहिले यो गाडीको मालिक मनसुख हिरेन ठानिएकोमा अहिले अर्कै भएको पत्ता लागेको हो।
अम्बानीको भव्य भवन एन्टिलियाको बाहिर शंकास्पद अवस्थामा भेटिएको त्यो स्कार्पियो गाडीको मालिक वास्तवमा ठाणे निवासी साम पिटर न्युटन भन्ने व्यक्तिको रहेको खुलेको हो। त्यो गाडी २०७७ अप्रिल ७ मा ठाणेस्थित आरटीओ कार्यालयमा दर्ता भएको पाइएको छ।
यसअघि गाडीधनी ठानिएको हिरेनले मृत्युअघि अपराध शाखामा न्युटनलाई आफूले सन् २०१६ देखि चिनेको बयान दिएका थिए। उनका अनुसार ठाणेमा उनको कार सजावट गर्ने व्यवसाय थियो। त्यस क्रममा न्युटनले आफ्नो त्यो स्कार्पियोमा केही सामान राखिदिन भनेका थिए।
इन्डियन एक्सप्रेसले लेखेको छ : गाडी सजावट गरेबापत न्युटनले हिरेनलाई २ लाख ८० हजारको चेक दिए, तर त्यो बाउन्स चेक (खातामा पैसै नभएको) रहेछ। त्यसपछि २०१८ अप्रिल ६ मा हिरेनले पैसा मागेँ। तर न्युटनले दिन नसक्ने बताए। त्यसपछि हिरेनलाई उनलाई नौपडा प्रहरी कार्यालय पुर्याए।
यसपछि न्युटनले १५ दिनभित्र पैसा दिने वाचा गरे र त्यतिन्जेलका लाग आफ्नो स्कार्पियो प्रयोग गर्न हिरेनलाई दिए।
हिरेनकी पत्नी विमलाले भनेकी छन्, ‘हिरेनले यो गाडी सहायक प्रहरी निरीक्षक सचिन वाझेलाई प्रयोग गर्न दिनुभएको थियो र गाडी २०२० फेब्रुअरी ५ सम्म वाझेकै साथमा थियो।’
जुन गाडी फेब्रुअरी २५ मा विस्फोटक पदार्थ जिलेटिनसहित मुकेश अम्बानीको घरबाहिर फेला परेको थियो भने त्यसको नम्बर प्लेट पनि नक्कली थियो। साथै चेसिस र इन्जिन नम्बर मेटिएको थियो।
यसपछि प्रहरीले गाडीको सिसामा लेखिएको फाइनान्स कम्पनीको नाम र नम्बरबाट त्यो गाडीको वास्तविक धनी पत्ता लगाएको हो।
सुरुमा यो गाडीको धनी हिरेन भन्ने ठानिएको थियो र हिरेनले पनि फेब्रुअरी १७ मा गाडी चोरी भएको बताएका थिए।त्यसपछि उनको मृत्यु भयो।
पहिले गाडी धनी ठानिएको हिरेन मृत फेला परेपछि रहस्यमय बनेको घटना अहिले गाडी मालिक अर्कै भएको पत्ता लागेपछि झनै रहस्यपूर्ण बनेको छ।
हिरेनको शरीरमा कुनै चोट नदेखिएको प्रहरीले जनाएको छ। उनको मृत्यु कसरी भयो भन्ने विषयमा पोस्टमार्टम रिपोर्टबाट केही पत्ता लाग्ने अपेक्षा गरिएको छ।
विस्फोटक पदार्थ र अम्बानीको परिवारै सिध्याइदिने चेतावनीको पत्रसहित उनको घरअगाडि स्कार्पियो फेला परेपछि भारतमा सनसनी मच्चिएको छ।
याे पनि : आतंकवादी संगठन जैस–उल–हिन्दले भन्यो : हाम्रो लडाइँ मुकेश अम्बानीसँग होइन, नरेन्द्र मोदीसँग हो

प्रतिक्रिया