ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका तत्कालिन संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको जीवनवृतान्त समेटिएको पुस्तक ‘स्मृतिमा रवीन्द्र अधिकारी’को लोकार्पण गरिएको छ।
रवीन्द्र अधिकारी स्मृति प्रतिष्ठानद्वारा आज यहाँ आयोजित कार्यक्रममा उक्त स्मृतिग्रन्थ सार्वजनिक गरिएको हो। नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गाप्रसाद उप्रेती र सो प्रतिष्ठानका अध्यक्ष विद्या भट्टराईले संयुक्त रुपमा पुस्तकको सार्वजनिक गरेका हुन्। पुस्तकमा अधिकारीका बहुआयामिक योगदानका विषयमा १२२ लेखकका लेख समेटिएका छन्।
प्रतिष्ठानका सल्लाहकार प्राडा हेमनाथ पौडेलले अधिकारीको दोस्रो स्मृति दिवसका सन्दर्भमा पारेर सार्वजनिक गरिएका पुस्तकमा अधिकारीले जीवनकालमा गरेका गतिविधि र उनका योगदानका विषय समावेश गरिएको जानकारी दिए।
उनका अनुसार पुस्तकका शुरुआती खण्डमा अधिकारीको जीवन वृत्तान्त र अर्का भागमा ३१ राजनीतिज्ञका संस्मरणात्मक लेख समावेश गरिएको छ। अधिकारीले प्राज्ञिक तथा सामाजिक क्षेत्रमा गरेको योगदानको विषयमा ७६ लेखकका लेख पनि उक्त पुस्तकमा राखिएको छ। अन्य २१ लेखकले पारिवारिक संस्मरण लेखेका छन् भने अधिकारीले राजनीतिक जीवनमा दिएको अन्तरवार्ता तथा मन्तव्य पनि पुस्तकमा समावेश छ।
यस्तै वैचारिक विषय, हस्तलिखित सामग्री, शोक पुस्तिकाका अंश, श्रद्धाञ्जलि र समवेदनामा विशिष्ट व्यक्तिबाट व्यक्त अभिव्यक्ति र उनी सहभागि भएका महत्वपूर्ण कार्यक्रमका तस्वीर पनि पुस्तकका सामग्री रहेको प्राडा पौडेलले जानकारी दिए।
प्रतिष्ठानका अर्का सल्लाहकार भरतराज पहारीले अधिकारी स्कुल पढ्दादेखि नै सामाजिक क्षेत्रमा लागेकाले पनि छोटो समयमै लोकप्रिय नेता बन्न सफल भएको बताए।
उनका सहकर्मी तथा सँगैका विद्यार्थी नेता लेखनाथ न्यौपानेले विद्यार्थी आन्दोलन र यातायातमा विद्यार्थी सहुलियत लागू गराउने सन्दर्भमा अधिकारीको योगदान भुल्न नहुने बताए। अर्थविज्ञ डा सुर्यराज आचार्यले आर्थिक सामाजिक रुपान्तरणमा राजनीतिलाई अर्थतन्त्रसँग जोड्नुपर्छ भन्ने कमै नेतामध्ये स्व अधिकारी हुनुहुन्थ्यो भने।
सांसद विन्दा पाण्डेले जस्तो सुकै अफ्ठ्यारो परिस्थितिमा पनि धैर्यताका साथ काम गर्न सक्ने असल नेताको रुममा अधिकारीलाई चिनेको बताइन्।
मौसममा आएको खराबीका कारण दुई वर्षअघि फागुन १५ गते ताप्लेजुङको पाथिभराबाट फर्कने क्रममा हेलिकप्टर दुर्घटनामा परी अधिकारीको निधन भएको थियो। रासस

प्रतिक्रिया