समाज


यिनै हुन् प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिला, जसलाई दिइँदै छ फाँसी

यिनै हुन् प्रेमीसँग मिलेर परिवारका ७ सदस्य हत्या गरेकी भारतीय महिला, जसलाई दिइँदै छ फाँसी

नेपालखबर
फागुन १८, २०७७ मंगलबार ११:४३,

प्रेमीसँग मिलेर आमाबुबासहित परिवारका ७ जनाको हत्या कसुरमा उत्तर प्रदेशको रामपुर कारागारमा रहेकी शबनमलाई बरेली कारागारमा सारिएको छ।

मृत्युदण्ड सजाय कुरिरहेकी शबनम, कारागारका महिला प्रहरीसँग बसेका तस्बिर सार्वजनिक भएपछि उनलाई अर्कै कारागारमा लगिएको हो।

शबनमका ती तस्बिर सबभन्दा पहिले दैनिक भास्करले यही फेब्रुअरी २४ मा प्रकाशन गरेको थियो। जहाँ उनी रामपुर जेलका महिला प्रहरीसँग देखिएकी छन्। जसलाई दैनिक भास्करले एक्सक्लुसिभ तस्बिर भनेको छ।

यस घटनाका कारण कारागार प्रशासनले दुई जना बन्दीरक्षकलाई निलम्बनसमेत गरेको छ।

निर्णय परिवर्तन भएन भने शबनम भारतमा मृत्युदण्ड (फाँसी) पाउने पहिलो महिला हुनेछिन्।

shabnam2

जसले अमरोहाको बावनखेडी भन्ने गाउँस्थित घरमा २००८ अप्रिल १५ मा प्रेमी सलिमसँग मिलेर आफ्ना बुबा शौकत अली, आमा हाशमी, भाइ अनिस अहमद, उनकी पत्नी अञ्जुम, भतिजी राबिया र भाइ राशिदका साथै अनिसका १० महिने छोरा अर्शको हत्या गरेकी थिइन्।

सबैलाई पहिले विष खुवाएर बेहोस बनाइएको थियो र त्यसपछि अर्शलाई छाडेर सबैको घाँटी काटेर हत्या गरिएको थियो। सानो बच्चा अर्शलाई भने घाँटी थिचेर मारिएको थियो।

अभियुक्तद्वय शबनम र सलिमविरुद्ध २०१० जुलाईमा अमरोहाको अदालतले फाँसीको सजाय सुनाएको हो। पछि इलाहाबाद उच्च अदालत र सर्वाेच्च अदालतले पनि त्यही फैसलालाई सदर गरे। भारतका राष्ट्रपतिले समेत उनीहरूले माफीको याचना गर्दै दिएका बिन्तिपत्र खारेज गरेका छन्। शबनमका तर्फबाट भने दोस्रोपटक पनि याचनापत्र दायर गरिएको छ।

१३ वर्षदेखि जेलमा रहेकी शबनमका यी तस्बिर यही वर्ष जनवरीमा जेलमा भएको कार्यक्रमका क्रममा खिचिएका थिए। जुन तस्बिरमा उनी जेलरक्षकका साथ हँसिलो मुहारमा देखिएकी छन्। शबनमले जेल सजाय कटाइसकेकी छन्। तर जब मृत्युदण्ड दिने कुरा चलेको छ तब उनी त्रसित तथा आक्रोशित भएकी छन्।

शबनमसँग भेट गरेको स्रोतले भन्यो, ‘उनलाई बाबनखेडी गाउँमा रहेको आफ्नो परिवारको सम्पत्तिको पनि पूरा जानकारी छ।’

shabnam3

किन गरिन् पूरै परिवारको हत्या?
शबनम उत्तर प्रदेशको अमरोहा जिल्लामा पर्ने बावनखेडी गाउँकी स्थायी बासिन्दा हुन्। परिवारको हत्याकाण्डपछि अनुसन्धान गर्ने क्रममा उनी गर्भवती भएको पत्ता लागेको थियो। तर परिवारले प्रेमी सलिमसँग उनको बिहे गर्न अस्वीकार गरेको थियो। यसैकारण उनले प्रेमीसँग मिलेर परिवारका सबै सातै सदस्यको हत्या गरेकी हुन्।

जेल जीवनकै क्रममा उनले २००८ डिसेम्बर १४ का दिन छोरा जन्माइन्। जुन बालक २०१५ जुलाई १५ देखि भने जेल बाहिर ल्याइएको छ। उनले आफ्ना छोरालाई क्याम्पस पढ्दाका साथी उस्मान सैफीको जिम्मा लगाएकी छन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad