समाज


दाइका हत्यारालाई कारबाही गराउन संघर्षरत मोरङकी सदीक्षालाई मनोज गजुरेलले गरे सलाम

दाइका हत्यारालाई कारबाही गराउन संघर्षरत मोरङकी सदीक्षालाई मनोज गजुरेलले गरे सलाम

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १४:१४,

आफ्ना दाइ प्रवीण बास्तोला हत्या गर्नेहरूलाई कारबाही माग गर्दै संघर्षरत मोरङ उर्लाबारीकी सदीक्षा बास्तोलाको साहसलाई हास्य कलाकार मनोज गजुरेलले सलाम गरेका छन्।

बिहीबार सामाजिक सञ्जालमा लामो स्टाटस लेख्दै गजुरेलले उनको हिम्मत र सक्रियताको प्रशंसा गरेका हुन्।

उर्लाबारीका प्रवीण बास्तोला २ महिनाअगाडि शंकास्पद अवस्थामा मृत फेला परेका थिए। तर प्रहरीले दोषीलाई कारबाही गर्न बेवास्ता गरेको भन्दै अमेरिकाबाट फर्किएर आएकी उनकी बहिनी सदीक्षाले फेसबुकमा लाइभ गर्दै विरोध गरिरहेकी छन्। जुन घटना अहिले निकै चर्चामा छ।

यसै विषयमा मनोज गजुरलले लेखेको स्टाटस यस्तो छ : 

सदीक्षा बास्तोला, उर्लाबारी (मोरङ), 

सामान्य विषयलाई भाइरल गराएर असामान्य बनाउने विकृतिबीच फेसबुक लाइभ पनि त्यस्तै होला भन्ठानेको थिएँ, तर म गलत रहेछु। मन, मुटु जोडिएको सहोदर दाजुको मृत्यु, अनुसन्धानमा भएको ढिलासुस्ती, प्रशासनको शंकास्पद गतिविधिलाई लिएर तिमिले गरिरहेको विरोध, आक्रोश र प्रतिरोधलाई सलाम गर्न चाहन्छु। सम्मान गर्न चाहान्छु।

दाजु गुमाउनुको पीडा, आमालाई सम्झाउनुको दुःख, बुबालाई फकाउनुको गाह्रो, आफैंलाई सम्हाल्नुको अप्ठेरो ! यस्तो अवस्थामा तिमी कुन मनोदशाबाट गुज्रिरहेकी छ्यौ, म बुझ्न सक्छु।

अमेरिकादेखी पढाइ छाडेर घर आएकी छ्यौ। आफ्नो सिंगो जीवन बाँकी छ तर पनि आफ्नो दाजुका लागि सबै छाडेर लडिरहेकी छ्यौ, यो सानोतिनो कुरा हैन। मलाई विश्वास छ, साहस, संयम र धैर्यताका साथ परिस्थितिलाई काबुमा लिनेछ्यौ, दाजुको आत्मालाई शान्ति दिनेछ्यौ।

पुत्र वियोगमा छटपटिएका बुबाआमालाई सान्त्वना दिएर आफ्नो करियरको बाटो पुनः सम्हाल्नेछ्यौ। तिम्रो साथमा उर्लाबारीका जनतासहित हामी छौं।

सत्यतथ्य के हो? उर्लाबारीका, जनता जनप्रतिनिधि र जिल्ला प्रशासनले चाँडै सार्वजानिक गरोस् । प्रशासनभित्र हुने र हुन सक्ने ढिलासुस्ती, गल्ती, कमजोरी र अपराधहरूको सूक्ष्म छानबिन गरोस् ताकि आफ्नो साख बचोस् , जनविश्वास पनि फिर्ता आओस् !

सदीक्षा ! तिमीसँग दोहोरो परिचय नभए पनि भ्रातृ वियोगले मान्छे कति विक्षिप्त, आक्रोशित र प्रतिरोधी हुन सक्छ भन्ने कुरा तिम्रो बोलीभन्दा मन र आत्माले बोलिरहेको देखिन्छ। पीडा र आक्रोशको ज्वाला कति दन्किरहेको छ, त्यो पनि भावबाट पढ्न सकिन्छ। तिम्रो यो साहस धेरैलाई शिक्षा बन्न सकोस् ताकि भोलि कहीं कतैबाट यस्तो केसमा खेलबाड, ढिलासुस्ती र अन्याय गर्ने आँट नगरोस्।

अन्त्यमा, चाँडै सत्यतथ्य बाहिर आओस्। प्रवीणको आत्माले न्याय पाओस्। बुबाआमालाई सात्वना मिलोस्। तिमीलाई सत्यबोध गर्ने साहस मिलोस्, पुनः आफ्नो अध्ययन र संसारमा फर्कने आँट प्राप्त होस्। अनन्त आकासमा विचरण गरिरहेको तिम्रो दाजुको आत्माको आवाज पनि यही छ, सदीक्षा, Stay Strong and Keep Motivated. हरि ॐ तत्सत ! 

याे पनि :   मोरङमा एक युवकको सन्देहपूर्ण मृत्यु, ६ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad