कारोबार


साना उद्योग, व्यवसाय र पेशा प्रबर्द्धन गर्न ‘आफन्त’ सञ्जाल सञ्चालन

साना उद्योग, व्यवसाय र पेशा प्रबर्द्धन गर्न ‘आफन्त’ सञ्जाल सञ्चालन

नेपालखबर
फागुन १३, २०७७ बिहिबार १३:५२,

लघु, घरेलु तथा साना उद्योग व्यवसाय र पेशा प्रबर्द्धन गर्नुका साथै उद्यमशीलता विकास गर्ने उद्देश्यले ‘आफन्त’ नामक सामाजिक सञ्जाल सञ्चालनमा आएको छ।

नेपालीले नेपालीकै लागि बनाएर सञ्चालनमा ल्याएको ‘आफन्त’ को प्रधानमन्त्री कार्यालयका सचिव डा. बैकुण्ठ अर्यालले सार्वजनिक गरे।

प्रधानमन्त्री कार्यालयका सचिव अर्यालले ‘आफन्त’ लाई साना उद्योगी र तिनका उत्पादनदेखि बजारीकरण गर्न सघाउने किसिमले सदुपयोग गर्न आग्रह गरे।

सरकारका तर्फबाट सहयोग रहने प्रतिवद्धता जनाउँदै भने, ‘एप र सञ्जालहरुको भीडमा यो त्यत्तिकै नहराओस्। उत्पादन, बजार, उद्यमीहरूलाई जोड्न सकोस्। प्रयोगकर्ताहरुलाई सजिलो होस्।’

वेवसाइट तथा एप दुवै माध्यममा उपलब्ध आफन्त सञ्जाल गाउँघरमा दिदीबहिनीहरुले उत्पादन गरेको अचार, जंगलबाट संकलन गरेको निगुरोमात्रै नभएर साना तथा लघु उद्यमीहरुका उत्पादनलाई कसरी सहज रुपमा बजारीकरण गर्न सकिन्छ भनेर खोजी गर्ने क्रममा यो आइडिया आएको नेपाल घरेलु तथा साना उद्योग महासंघका अध्यक्ष तथा आफन्त नेपाल प्रालिका अध्यक्ष श्यामप्रसाद गिरीले बताए।

कृषि, औद्योगिक लगायत अन्य स्थानीय उत्पादक र थोक तथा खुद्रा व्यापारी र उपभोक्ताबीच वस्तु खरिद बिक्रीबारे जानकारी लिने दिने माध्यमका साथै निर्यातमूलक वस्तु उत्पादनकर्ता र बाह्य खरिदकर्ता र व्यापारीबीच जानकारी आदान प्रदान गर्ने माध्यमको रुपमा आफन्तलाई अगाडि बढाइएको उनको भनाई छ। विभिन्न कालखण्डमा नेपालमा रहेर वा नरही नेपाललाई माया गर्ने गैर नेपाली र नेपाली समुदायबीच अन्तरक्रिया गर्ने माध्यम पनि आफन्त रहेको अध्यक्ष गिरीले बताए।

अन्य सामाजिक सञ्जालमा जस्तै ‘आफन्त’ मा तस्बिर, भिडिओ पोस्ट गर्न तथा लेख, ब्लगहरु पनि पोस्ट गर्न, च्याट गर्न मिल्नेछ। अन्य सामाजिक सञ्जाल भन्दा ‘आफन्त’ मार्फत उद्योगी व्यवसायीले संसारभर छरिएका ग्राहकलाई कुनै पनि उत्पादन बिक्री गर्न सक्ने सञ्चालनकर्ता कम्पनी आफन्त नेपाल प्रालिले जनाएको छ।

बिक्रेता र क्रेतालाई जोड्ने पुलका रुपमा काम गर्ने ‘आफन्त’ लाई नेपालीहरूको अनलाइन साझा चौतारी बनाउन खोजिएको यसका सञ्चालक तथा सम्पादक तेजप्रसाद ढकालले बताए। आफन्तमा सबै नेपालीहरुलाई जोडेर व्यापार गराउने उद्देश्य रहेको भन्दै उनले यसलाई अझै परिष्कृत गर्दै लैजाने बताए।

रोजगारी दिने र कामको खोजीमा रहेकालाई पनि सहयोग पुर्‍याउने ‘आफन्त’ प्लेटफर्ममा आफ्नो कम्पनीलाई चाहिएको जनशक्तिबारे विस्तृत विवरण राख्न सकिनेछ । जागिरको खोजीमा रहेकाहरुले पनि आफूलाई उपयुक्त लागेको भ्याकेन्सीमा एप्लाइ गर्न सक्नेछन्।

‘साना उद्यमीहरूका लागि यो राम्रो प्लेटफर्म हो।’ एनपीइडिसिकी अन्जना ताम्राकारले भने, ‘उद्यमीले बजार नपाउँदा समस्या भोगिरहेका छन्। यो एकदमै ठूलो अवसर हो।’

‘आफन्त’ साँच्चिकै उपयोगी भएको बताउँदै नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष कुशकुमार जोशीले नेपालीहरुलाई जोड्ने यो एप जति बढी प्रयोग गर्न सक्यौं, त्यति फाइदा रहेको बताए।

‘यो सञ्जालबाट देशका कुनाकाप्चामा उत्पादन भएका सामान बेच्न सकिन्छ’ जोशीले भने, ‘गाउघरमा उत्पादन भएका वस्तु तथा सामानहरु यस प्लेटफर्ममार्फत बेच्न सकिने आफन्त नेपाल प्रा.ली.ले बताएको छ। आम नेपालीहरुको उद्यम व्यवसायलाई कसरी प्रवद्र्धन गर्न सकिन्छ, त्यसमा जोड दिन्छौं।’

आफन्त नेपालका सञ्चालक ढकालले भने, ‘संघीय, प्रदेश, स्थानीय सरकारसँग मिलेर अगाडि बढ्ने योजना छ।’

यो एप एन्ड्रोइड र आइओएस दुबै भर्सनमा डाउनलोड गर्न सकिन्छ ।

नेपाल घरेलु तथा साना उद्योग महासंघका कार्यबाहक अध्यक्ष उमेशप्रसाद सिंहले आफन्त प्लेटफर्मलाई बहुआयामिक तबरले व्यवसायसँग जोडेर अगाडि बढाउन सकिने बताए। विदेशमा रहेका नेपालीहरुलाई नेपाल, नेपाली र नेपाली उत्पादनसँग जोड्ने अवसर भएको भन्दै नेपाली पहिचान बोकेका उत्पादकहरुले फाइदा लिन सक्नुपर्ने बताए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad