जमीन माग्दै कर्णालीका वादी समुदाय मुख्यमन्त्री कार्यालय मूलद्वार अगाडि धर्नामा बसेका छन्। सोमबार बेलुकादेखि उनीहरु जमीन र घर माग्दै मुख्यमन्त्री कार्यालय नजिकै धर्नामा बसेका हुन्।
वादी समुदायले खेतीपाती गर्नका लागि स्थायी लालपुर्जासहितको जमीन, बस्नका लागि घर र रोजगारीको माग पूरा नहुँदासम्म मुख्यमन्त्री कार्यालयको द्वार नछाड्ने बताएको छ। आज दिउँसो पत्रकारसँग कुरा गर्दै उनीहरुले आफ्ना माग पूरा नभएसम्म धर्नामा बस्ने बताएका छन्। माछा मार्ने, बालुवा चाल्ने र मादल बनाएर गुजारा चलाउँदै आएका यी समुदाय परम्परागत पेशा लोप भएपछि संकटमा रहेका छन्।
परम्परागत पेशा लोप भएपछि साँझ बिहानको गुजारा चलाउन पनि समस्या भएको वादी समुदायका अगुवा हिक्मत वादीले बताए।
‘हामीलाई माछा मार्न स्थानीय सरकारको अनुमति चाहिन्छ। मादल र सुल्पा बिक्री हुँदैनन्’ उनी भन्छन्, ‘हाम्रो अरु केही विकल्प नभएपछि जमीन र घर माग्दै सरकार गुहार्न आएका हौँ।’
स्थानीय सरकारलाई आफ्ना गुनासा सुनाउँदा उनीहरुबाट सुनुवाइ नभएपछि प्रदेश सरकारसँग जमीन माग्न सुर्खेत आएको धर्ना बसेका प्रेम वादीले बताए।
उनले भने, ‘हाम्रो समुदायलाई स्थायी पूर्जासहितको जमीन, बास र रोजगारीको ग्यारेन्टी नहुँदासम्म घर फर्किदैनौँ।’
जमीन र घर माग्दै आएका वादी समुदायसँग अहिले छाना, नाना र खाना छैन। चिसो मौसममा खुला आकाशमुनि धर्नामा बसिरहेका छन्। परम्परागत पेशाले जीवन धान्न नसकिने भएकाले जमीन माग्न आएको हरि वादीले बताए। कालीकोट र दैलेखका करीब ४०० को संख्यामा वादी समुदाय सुर्खेतमा आएका छन्। रासस

प्रतिक्रिया