बैतडीको दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न व्यक्ति उनकै सहपाठी मात्र होइनन्, छिमेकीसमेत हुन्, साथै थर पनि एउटै।
प्रहरीका अनुसार भागरथी पढ्ने सनातन माध्यमिक विद्यालयकै कक्षा ११ का विद्यार्थी १७ वर्षीय दिनेश भट्टलाई पक्राउ गरिएको हो। उनको घर पनि दोगडाकेदार गाउँपालिका-७ मै हो। भागरथी सोही विद्यालयमा कक्षा १२ मा पढ्थिन्।
अभियुक्तले अपराध स्वीकारेकाले आज दिउँसो १२ बजे उनलाई सार्वजनिक गरिने सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसएसपी मुकेश कुमार सिंहले जानकारी दिए।
‘पारिवारिक रिसइबीका कारण हत्या गरेको स्वीकारेका छन्। अनि तथ्यहरु पनि मिलेका छन्,’ एसएसपी सिंहले नेपालखबरसँग भने, ‘घटनामा उनी एक्लैको संलग्नता रहेको निष्कर्षमा पुगेका छौँ।’
दिनेश र भागरथीका परिवारबीच बोलचाल नरहेको खुलेको छ। अभियुक्तले बदला लिन पहिलेदेखि नै भागरथीको हत्या गर्ने योजना बुनेको बयान प्रहरीसमक्ष दिएका छन्।
माघ २१ मा भागरथीको हत्या गर्नैकै लागि उनी विद्यालयबाट अगाडि नै निस्केको अनुसन्धानबाट खुलेको छ।
‘भागरथीको विद्यालय साढे २ बजे बिदा हुन्थ्यो। मेरो ३:१५ तिर। त्यो दिन म हत्या गर्नकै लागि २ घण्टाअगाडि नै आएर बाटोमा बसेको थिएँ,’ दिनेशले प्रहरीसमक्ष दिएको बयान उधृत गर्दै स्रोतले भन्यो, ‘भागरथी आएपछि पहिला किताब खोसेर फाले। अनि उनलाई पनि धक्का दिएर लडाएर घाइते बनाएँ। बलात्कार प्रयास पनि गरेँ। त्यसपछि घाँटी थिचेर हत्या गरेँ।’
यस्तै अभियुक्त दिनेश भागरथीको न्यायको माग गर्दै स्थानीय खोचलेक बजारसहितका ठाउँमा भएका प्रदर्शनमा पनि दिनहुँ सहभागी भएकाे स्रोत बताउँछ।
‘घटनाका दिन पनि अधिकतर गाउँका मान्छे आए। तर उ आएन। प्रदर्शनमा पनि सुरुका दुई दिन सहभागी भएन। पछि लगातार प्रदर्शनमा सहभागी हुने गरेको थियो,’ प्रहरी स्रोतले भन्यो, ‘दिनेश र भागरथीको परिवारबीच त्यति राम्रो बोलिचाल पनि थिएन। शंकास्पद गतिविधिले दिनेश सुरुदेखि नै हाम्रो निगरानीमा थियो।’
अपराध स्वीकारेका दिनेशलाई अहिले जिल्ला प्रहरी कार्यालय बैतडीको हिरासतमा राखिएको छ। माघ २१ बुधबार विद्यालयबाट घर नफर्किएकी दोगडाकेदार गाउँपालिका–७ कतोलाकी १७ वर्षीया भागरथी भट्ट अर्को साँझ घरनजिकै स्थानीय लबलेक सामुदायिक वनमा हत्या गरिएकाे अवस्थामा भेटिएकी थिइन्।
Shares
प्रतिक्रिया