मानव बेचबिखनमा संलग्न पीडक र पीडित दुबै केन्द्रीय कारागारमा फेला परेका छन्।
११ वर्ष पहिले पीडितसँग डेढ लाख रुपैयाँ लिएर युएई पठाउने भन्दै ठगी गरेका व्यक्ति केन्द्रीय कारागार सुन्धारामा फेला परेका हुन्। उनीविरुद्ध जाहेरी दिने व्यक्ति पनि हाल केन्द्रीय कारागारमै रहेको मानव बेचविखन अनुसन्धान ब्युरोले जनाएको छ।
दुबईमा मासिक ५० हजार रुपैयाँ तलब हुने, होटल वेटरको कामका लागि भिसा आएको भन्दै २०६६ भदौमा डेढ लाख रुपैयाँ लिएको प्रहरीमा जाहेरी परेको थियो।
२०६६ साल असोज ८ गते पीडितलाई भैरहवा हुँदै गोरखपुरबाट रेल चढाइ भारतको नयाँ दिल्लीसम्म पुर्याएको र त्यहाँ भारतीय र अरबियन मानिसहरुको जिम्मा लगाएर उनी फर्किएका थिए।
दुई दिनसम्म नयाँ दिल्ली बसेर हैदर भन्ने भारतीय नागरिकसँग ३५ लाख भारु लिएर पीडक नेपाल फर्किएका थिए। पीडित युवालाई भने भारतीय र अरबीहरुले वेटरको तालिम दिने भनी ४५ दिनसम्म बन्धक बनाई चरम शोषणमा परेको अवस्थामा एक जना दार्जिलिङ बस्ने ब्यक्तिको सहयोगमा भागेर नेपाल फर्किएको पीडितले बताएको प्रहरीले जनाएको छ।
ब्युरोले अनुसन्धान गर्ने क्रममा पीडित र पीडक रमेश खड्का भन्ने तुलाराम खड्का छुट्टा–छुट्टै अपराधमा केन्द्रीय कारागारमा बन्दी जीवन बिताइरहेको खुलेको हो।
घटनामा संलग्न साइराम भन्ने भुपालमान श्रेष्ठलाई भने ब्युरोले पक्राउ गरेको छ।
उनलाई मंगलबार सामखुसी एरियाबाट पक्राउ गरी काठमाडौँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ।
अन्य फरारको पनि खोजी भइरहेको ब्युरो प्रमुख एसएसपी दुर्गा सिंहले बताइन्।

प्रतिक्रिया