ad ad

समाज


निर्मला हत्या सम्झाउने बैतडीको घटना, त्यो बाटै हिँड्न डराउँछन् महिला

निर्मला हत्या सम्झाउने बैतडीको घटना, त्यो बाटै हिँड्न डराउँछन् महिला

गोकुल जोशी
माघ २४, २०७७ शनिबार ६:३८,

बैतडीको दोगडाकेदार गाउँपालिका–७, कतोलाकी ४५ वर्षीया द्रोपती भट्ट शुक्रबार सेतो सारीमा आँखाभरि आँशु लिएर लबलेक सामुदायिक वनमा पुगिन्। कान्छी छोरी (भागरथी) को बीभत्स शव देख्नासाथ भुइँमा ढलिन्। एकपछि अर्काे बज्रपात उनले थेग्न सकिनन्, बेहोस भइन्।

मधुमेहका कारण एक महिनाअघि मात्र उनको श्रीमानकाे निधन भएको थियो। परिवार पालन-पोषणका लागि दोप्रतीका श्रीमान् भारतमा मजदुरी गर्थे। गरिबीका बीच भट्ट परिवारले जसोतसो हुर्काएकी छोरीको कलकलाउँदो उमेरमै भएको मृत्युले यतिबेला गाउँ नै शोकमा डुबेको छ।

bhagrathi4

चार सन्तानकी आमा द्रोपतीले २ छोरीको बिहे गराइसकेकी छन्। भागरथी कान्छी थिइन्। बुवाको निधन भएपछि घरपरिवार चलाउन द्रोपतीका एक्ला छोरा एक साताअघि मात्र भारत गएका थिए। बिहिनीको बीभत्स हत्याको खबर पाएपछि उनी पनि घर फर्किंदैछन्।

बहिनी भागरथी सिर्कोटस्थित सनातल धर्म माध्यमिक विद्यालयमा वाणिज्य संकायमा कक्षा १२ मा पढ्थिन्। बुधबार बिहान १० बजे उनी विद्यालय जान्छु भनेर घरबाट हिँडिन्। स्कुल पुग्न  जंगलै जंगल झन्डै एक घण्टा हिँड्नुपर्छ। विद्यालय जाने बेला थुप्रै साथी हुन्थे। तर उनको विषयको कक्षा साढे १ घण्टाअघि नै सकिने भएकाले फर्किने बेला एक्लै हुन्थिन्।

bhagrathi3

घरका सबै काम गर्नुपर्ने भएकाले पनि भागरथी छुट्टी हुनासाथ हिँडिहाल्थिन्। बुधबार पनि त्यसै गरिन्। दुर्भाग्य ! सदाझैं यसपटक उनी घर पुग्न पाइनन्।

प्रहरीका अनुसार विद्यालयबाट घर फर्किने क्रममा भागरथीको बाटैमा हत्या भयो। बुधबार अबेरसम्म पनि घर नआएपछि परिवारका सदस्य र गाउँले मिलेर खोज्न थाले। अन्ततः बिहीबार बेलुका उनी स्थानीय लबलेक सामुदायिक वनको झाडीमा मृत भेटिइन्। बीभत्स किसिमले हत्या गरिएको अवस्थामा।

यो घटनाले निर्मला पन्तको बलात्कार/हत्या प्रकरण सम्झाएको छ। बैतडी प्रहरीका अनुसार घटनाको प्रकृति हेर्दा भागरथीको पनि बलात्कारपछि हत्या गरिएको देखिन्छ। यसको निर्क्याेल गर्न भेजाइनल स्वाबलगायत आवश्यक नमुना परीक्षण गर्ने तयारी भइरहेको छ। यसको नतिजा आएपछि मात्रै घटनाको वास्तविकता खुल्ने प्रहरीको भनाइ छ।

प्रहरीका अनुसार किशोरीको शरीरभरि नीलडाम र घाउ छन् भने कपडा पनि च्यातिएको छ।

घटनाको सत्य, तथ्य छानबिन गरी दोषीलाई कानुनी कठघरामा ल्याउन माग गर्दै शुक्रबार सुदूरपश्चिमका विभिन्न ठाउँमा प्रदर्शन गरिएका छन्।

bhagirath5

घटनाको सूक्ष्म ढंगले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका लागि सुदूरपश्चिम प्रदेश प्रहरीका एसएसपी जनकराज पाण्डेयको नेतृत्वमा सीआईबीका डीएसपीसहित ४ सदस्यीय छुट्टै अनुसन्धान टोली पनि परिचालन गरिएको छ।

याे पनियुवती हत्या प्रकरणः एसएसपीको कमान्डमा अनुसन्धान टोली, मोबाइल विश्लेषण गर्दैै प्रहरी

स्थानीय त्रसित
यो घटनापछि स्थानीय बासिन्दा त्रसित भएका छन्। असुरक्षा बढेको भन्दै दोगडाकेदार गाउँपालिका–७ का बासिन्दा अहिले त्यो जंगलको बाटै हिँड्न डराएका हुन्।

चाँडोभन्दा चाँडो अपराधी पत्ता लगाई कारबाही गरिनुपर्ने दोगडाकेदार गाउँपालिका–७ की वडासदस्य लक्ष्मी भट्टको माग छ।

‘एक्लै हिँड्न यहाँका दिदिबहिनीलाई डर भइसकेको छ। सुरक्षाकर्मी पनि बजारमा मात्रै छन्,’ उनले भनिन्, ‘दोषीको पहिचान गरी फासी दिनुपर्छ।’

याे पनि :

भागरथी भट्टका हत्यारालाई तुरुन्त कारबाही गर : देउवा

निर्मला प्रकरण पहिलो प्राथमिकतामा : एसपी चतुर्वेदी

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .