ad ad

समाज


देशैभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

देशैभर मौसम बदली, वर्षा र हिमपातको सम्भावना

नेपालखबर
माघ २४, २०७७ शनिबार ०:२६,

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले अहिले (शनिबार बिहान) देशैभर मौसम बदली (आंशिकदेखि सामान्यसम्म) भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली र बाँकी प्रदेशमा आंशिकदेखि सामान्यसम्म मौसम बदली रहनेछ।

प्रदेश १ का धेरै स्थान तथा प्रदेश २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको पनि सम्भावना छ। साथै देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपात हुने सम्भावना रहेको महाशाखाले जनाएको छ।

यसैगरी आज राति पनि प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका केही स्थान र गण्डकी प्रदेशका एक दुई ठाउँमा हल्का वर्षा हुने सम्भावना छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली क्षेत्रका केही स्थानमा हल्का हिमपात हुने सम्भावना पनि रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

आगामी २४ घण्टा (आइतबार बिहान ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गर्दै महाशाखाले भनेको छ, ‘उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्का हिमपात तथा सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, १ नम्बर र बागमती प्रदेशमा बदली भई हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .