पश्चिमी न्यून चापीय प्रणालीका कारण आज (शुक्रबार) राति देशका धेरै स्थानमा वर्षा तथा हिमपात हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले साँझ ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी, गण्डकी प्रदेश र बागमती प्रदेशका पहाडी भेगका धेरै स्थान तथा प्रदेश नम्बर १ का केही स्थानमा हल्का वर्षाको सम्भावना छ।
साथै देशका उच्च पहाडी र हिमाली क्षेत्रका धेरै ठाउँमा हल्का हिमपातको सम्भावना पनि छ।
महाशाखाले आगामी २४ घण्टा (शनिबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।
जसमा भनिएको छ : उच्च पहाडी तथा हिमाली भेगका केही स्थानमा हल्का हिमपात तथा सुदूरपश्चिम, कर्णाली, गण्डकी, लुम्बिनी, १ नम्बर र बागमती प्रदेशमा बदली भई हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेकाले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन सबैमा अनुरोध छ।
महाशाखाका अनुसार शनिबार दिउँसो पनि प्रदेश नम्बर १ का धेरै स्थान तथा प्रदेश नम्बर २, बागमती र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै देशका उच्च पहाडी र हिमाली भेगक ाकेही स्थानमा हल्कादेखि मध्यमसम्म हिमपातको सम्भावना छ।
यसैगरी शनिबार राती पनि प्रदेश नम्बर १, २ र बागमती प्रदेशका केही स्थान साथै गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का वर्षाको सम्भावना छ। साथै प्रदेश नम्बर १, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्का हिमपातको सम्भावना छ।

प्रतिक्रिया