गत जनवरी २० मा बाइडेनले शपथग्रहण गरेर नयाँ कार्यकाल सम्हालेपछि ट्रम्पको चर्चा यतिबेला कम हुन थालेको छ।
ट्रम्प बाइडेनको शपथग्रहण कार्यक्रममा उपस्थित भएका थिएनन्। बरु उनले बाइडेनको शपथग्रहण समारोहकै दिन म्यारिल्यान्डमा भिन्दै कार्यक्रमको आयोजना गर्दै आफ्ना समर्थकलाई भनेका थिए,‘हामी तपाइँहरुलाई माया गर्छौ। हामी कुनै न कुनै माध्यमबाट फेरि फर्कनेछौं।’
अमेरिकी संविधानअनुसार ट्रम्पले अझै एक कार्यकाल राष्ट्रपति बन्नसक्ने प्रावधान छ। ट्रम्पले पनि सन् २०२४ को निर्वाचन लड्ने बताइसकेका छन्। यसबीचमा उनले नयाँ पार्टी खोल्ने चर्चासमेत चलेको थियो।
यसै महिनाको सुरुवातमा ट्रम्पका समर्थकले चुनावमा धाँधली भएको बताउँदै संसद भवनमा तोडफोड गरेपछि रिपब्लिकन पार्टीकै नेताहरु उनीसँग रुष्ट छन्। ट्रम्पले हालसम्म पनि बाइडेनले चुनाव धाँधली गरेका कारण जितेको बताउने गर्दछन्।
संसद भवन तोडफोडको घटनाको विश्वभरबाट आलोचना भएको थियो। उक्त कार्य अमेरिकी लोकतन्त्रको मूल्य र मान्यता विपरित भएको बताइएको थियो।
ट्रम्पकै उक्साहटमा संसदमा तोडफोड भएको भन्दै उनीमाथि तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा महाभियोग प्रस्ताव पारित भएको थियो।
माथिल्लो सदन सिनेटमा पनि यो प्रस्ताव पुगिसकेको छ। चाँडै त्यहाँ पनि महाभियोगको पक्ष र विपक्षमा मतदान हुनेछ।
सिनेटमा डेमोक्रेटिकका ४८ र रिपब्लिकनमा ५० सिनेटर छन्।
दुई तिहाई मतले मात्र सिनेटमा महाभियोग प्रस्ताव पारित हुन्छ। यसको अर्थ डेमोक्रेटिक पार्टीलाई १७ रिपब्लिकन सिनेटरले यस कार्यमा सहयोग पुर्याउनुपर्छ नभए ट्रम्पमाथि महाभियोग लाग्दैन।
महाभियोग लागेमा ट्रम्पले अर्को कार्यकालका लागि चुनावमा उठ्न नपाउने पनि बताइएको छ।
ट्रम्प के गर्दैछन्?
ट्रम्प यतिबेला आफ्नो परिवारसँग फ्लोरिडाको मार–ए–लागो रिसोर्टमा बसिरहेका छन्।
उनी राजनीतिलाई नत्याग्ने बरु आफ्नो कार्यकालको मुद्दालाई आगामी दिनमा जोडसँग उठाउने योजनामा छन्।
बाइडेनले कार्यकाल सम्हालेकै दिन ट्रम्पका प्राय सबै नीति र योजनाहरु उल्ट्याइसकेको अवस्था छ।
ट्रम्प यतिबेला सिनेटमा हुने महाभियोग छलफललाई कुरिरहेका छन्। हालै अमेरिकी सिनेटका कैयौँ रिपब्लिकनहरूले डोनल्ड ट्रम्पमाथिको महाभियोग सुनुवाइ रोक्ने प्रयासस्वरूप एउटा मतदान गरेका थिए।
पचास जना रिपब्लिकन सांसदहरूमध्ये पाँच जनाले मात्र ट्रम्पको महाभियोग अगाडि बढाउने पक्षमा मतदान गरेको र ४५ ले त्यसलाई रोक्नुपर्ने धारणा राखेका थिए।
डेमोक्रेटिक पार्टीलाई १७ रिपब्लिकन सिनेटरले सहयोग गरेमात्र ट्रम्पमाथि महाभियोग लाग्नेछ। यसको अर्थ ट्रम्प आफूमाथि महाभियोग नलाग्नेमा ढुक्क छन्।
तर ट्रम्पमाथि कैयौं महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन्। पत्रकार इ. जिन क्यारोलले हालै सन् १९९० को दशकमा ट्रम्पले आफूमाथि यौन दुर्व्यवहारको गरेको आरोप लगाएकी छिन्।
यस्तै केही वकिलहरुले ट्रम्पको व्यापार तथा व्यवसायिक कार्यपद्धति सम्बन्धी आपराधिक आरोपहरुको अनुसन्धान गरिरहेको पनि बताइएको छ।
ट्रम्प यी मुद्दाहरु सामना गर्न पनि परामर्शमा रहेको बताइएको छ। एक्सप्रेस को. युके
Shares

प्रतिक्रिया