कास्कीको राष्ट्रिय माध्यमिक विद्यालयका प्रधानाध्यापकसहित तीन शिक्षक पक्राउ परेका छन्।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका १८ कास्कीकोट घर भएका प्रधानध्यापक ४८ वर्षीय सुर्य तिवारी, कास्कीको रुपा गाउँपालिका–४ सिद्ध घर भएका शिक्षक ४१ वर्षीय घनश्याम रेग्मी र पोखरा महानगरपालिका २० भलाम घर भएका शिक्षक ४० वर्षीय शिरिष कुमार बस्ताकोटी रहेका छन्।
पोखरा महानगरपालिका १ पुरानो टुँडिखेलस्थित विद्यालयका शिक्षकले छात्रालाई होटलमा लगेर परीक्षा लिएको पाइएपछि यसमा संलग्न शिक्षकहरु पक्राउ गरिएको कास्की प्रहरीले जनाएको छ।
विद्यालयकी एक छात्रालाई कक्षा ११ को ऐच्छिक अंग्रेजी र शैक्षणिक बिधि विषयको आंशिक परीक्षामा परीक्षा केन्द्र भन्दा बाहिर होटलमा लगि अमर्यादित रुपमा परीक्षा लिएको र अन्य प्रचलित कानून बिपरितको कसूरजन्य कार्य समेत भएको हुन सक्ने प्रहरीको अनुमान छ।
आवश्यक अनुसन्धान गरी दोषी उपर कारवाही गर्न राष्ट्रिय परीक्षा बोर्ड सानोठिमी, भक्तपुरले माघ २ गते पत्राचार गरेको थियो।
उनीहरुलाई कास्की प्रहरी कार्यालयको हिरासतमा राखी शिक्षा ऐन अन्तरगत मुद्दामा आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको प्रहरी प्रवक्ता सुवास हमालले बताए।
अदालतले शिक्षकहरुलाई ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न समेत अनुमति दिएको छ।

प्रतिक्रिया