हुम्लाको सिमकोट गाउँपालिका-७ डाँडाफयामा पूर्व र वर्तमान पतिबीच झडप हुँदा गर्भवती महिला घाइते भएकी छन्।
दोस्रो विवाह गरेकी ती महिलाका पूर्वश्रीमानले उनलाई कुटपिट गरेका हुन्।
पूर्वपति धनराज शाहीले गर्भवती रहेकी पूर्वपत्नीलाई हातपात गरेका हुन्।
धनराजलाई छाडेर उमेशसँग विवाह गरेपछि केही समयअगाडि मिलापत्र गरेको भए पनि शनिबार दुई पक्षबीच झडप भएको हो।
११ लाख रुपैयाँ तिरेर मिलापत्र भएको भए पनि दोस्रो श्रीमान् उमेशले आफूले पैसा तिरेको भर्पाईसहितको कागजात माग्न खोज्दा पहिलाका श्रीमान् धनराजले गर्भवती महिलालाई कुटेका हुन्। उनकाे निधार र कानमा चोट लागेको छ।
पहिलाका श्रीमान् पक्षकाले मिलेर कुटपिट गर्दा पाँच महिनाको गर्भ रहेकी ती महिला बोल्न नसक्ने भएकी छन्। उचारका लागि उनलाई सिमकोट ल्याइएको छ।
संविधानमै गाउँपालिकाले हिंसापीडितको सुरक्षाका लागि आश्रय केन्द्र निर्माण तथा व्यवस्थापन गर्नुपर्ने उल्लेख भए पनि हुम्लाका सात स्थानीय तहले अहिलेसम्म सिन्कोसमेत भाँच्न सकेका छैनन्। रासस

प्रतिक्रिया