नेपाल–भारत सीमा नाकामा अवस्थित महोत्तरीको मटिहानी नगरपालिकामा नेपाल प्रहरीले बिहीबार पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा धनुषाको जनकपुर उपमहानगरपालिका– १७ कपिलेश्वर गाउँ बस्ने २३ वर्षीय रामशंकर मण्डल रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले बताए।
युवक मण्डल बिहीबार बिहान करिब ११ बजे पेस्तोल बोकी जनकपुरबाट मटिहानी गएको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले उनलाई मटिहानी नगरपालिका– ८ बाट पक्राउ गरेको हो।
उनको साथबाट एक थान नलकटुवा पेस्तोल, त्यसमा लोड गरिएको अवस्थामा एक राउन्ड गोली र एक राउन्ड साथमा रहेको गोली प्रहरीले बरामद गरेको हो।
पेस्तोल र गोलीसहित पक्राउ परेका युवक मण्डललाई आवश्यक अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयमा ल्याई आवश्यक अनुसन्धान अगाडि बढाइएको छ। रासस

प्रतिक्रिया