झापाको मेचीनगरमा जंगली हात्तीको आक्रमणबाट एक वृद्धाको मृत्यु भएको छ।
मेचीनगर नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय अगाडि बस्ने ६२ वर्षीया पद्मा पौडेललाई आज बिहान घरबाट बाहिर निस्कने क्रममा अचानक आएको एउटा जंगली हात्तीले आक्रमण गरेको हो।
हात्तीले कुल्चिँदा पौडेलको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाउनसाथ प्रहरी चौकी बाहुनडाँगीबाट खटिएको प्रहरी टोलीले घटनास्थललाई सुरक्षित राखेको थियो।
घटनाको थप अनुसन्धान तथा कानुनी प्रक्रियाका लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी निरीक्षक बीरेन्द्र कोईरालाको कमाण्डमा प्रहरी टोली खटिएको प्रहरीले जनाएको छ।
मृतकको शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि मेची प्रादेशिक अस्पताल भद्रपुर पठाउने काम भइरहेको छ।
पछिल्लो एक हप्तामा मेची भएर करिव एक सय हात्तीको संख्या नेपाल प्रवेश गरेको स्थानीयले बताउँदै आएका छन्।
Shares

प्रतिक्रिया