बेलायतमा कोरोना भाइरसबाट संक्रमितलाई गम्भीर अवस्थामा पुग्नबाट रोक्ने एउटा नयाँ उपचारको परीक्षण सुरु भएको छ।
बीबीसीका अनुसार यो उपचार पद्धतिमा कुनै पनि भाइरस संक्रमण हुँदाशरीरले निर्माण गर्ने ‘इन्टरफेरोन बेटा’ भन्ने प्रोटिन बिरामीलाई सुँघ्न लगाइन्छ।
यसबाट बिरामीको शरीरको रोग प्रतिरोधी क्षमता सक्रिय भई भाइरससँग लड्न तयार हुने अपेक्षा गरिएको छ।
यो उपचार विधिबाट मंगलबार एक जना संक्रमितलाई उपचार गरिएको छ। पहिलो चरणको तथ्यांकले यो उपचारले भेन्टिलेटर चाहिने वा गम्भीर अवस्थामा पुग्ने बिरामी ८० प्रतिशतले घटाउने देखिएको छ।
यो उपचार पद्धति साउथ ह्याप्टन युनिभर्सिटी अस्पतालले विकास गरेको हो।
बेलायतमा यो उपचार पद्धतिका लागि प्रतिबिरामी २ हजार पाउन्ड लाग्ने र त्यहाँको अस्पतालमा हुने खर्चका हिसाबले यो धेरै नभएको बताइएको छ।
मंगलबार ३४ वर्षीया अलेज्यान्ड्रा कन्सट्यान्टिनलाई परीक्षणका रूपमा यस्तो उपचार गरिएको छ। उनी सोमबार अस्पताल भर्ना भएकी थिइन्।
उपचार पद्धति देखाउन नर्सले उनलाई ‘इनहेलर’ दिएको र औषधिलाई वाफ बनाएपछि उनले फोक्सोमा पुग्ने गरी त्यसलाई श्वासबाट ग्रहण गरेकी थिइन्।
गत वर्ष गरिएको दोस्रो चरणको परीक्षणमा यो उपचार प्रभावकारी देखिएको थियो।
बिरामी निको हुने सम्भावना दुईदेखि तीन गुणासम्म बढेको औषधि उत्पादन गरिरहेको साइनार्जेन कम्पनीले जनाएको छ।
ती परीक्षणमा बिरामीमा स्वाँस्वाँ हुने अवस्था निकै कम भएको र अस्पताल बस्नुपर्ने औसत समय ९ दिनबाट ६ दिनमा झारेको बताइएको छ। तर ती परीक्षण १०० बिरामीमा गरिएको सानो परीक्षण थियो।
अहिले सुरु गरिएको परीक्षणमा भने २० देशका ६ सय बिरामी समावेश गरिने छ। परीक्षणबाट सकारात्मक नतिजा आएपछि मात्रै औषधि उपचारमा प्रयोगका लागि योग्य ठहरिने बीबीसीले जनाएकाे छ।

प्रतिक्रिया