समाज


रुपन्देहीको ओमसतियामा माघ १ गते खिचडी महोत्सव हुने

रुपन्देहीको ओमसतियामा माघ १ गते खिचडी महोत्सव हुने

प्रकाश न्यौपाने
पुस २९, २०७७ बुधबार ११:५८,

रुपन्देहीको ओमसतियामा खिचडी महोत्सव हुने भएको छ। माघी पर्वको अवसर पारेर ओमसतिया सांस्कृतिक युवा क्लबले माघ १ गते (भोलि) महोत्सव गर्न लागेको आयोजकले बुधबार भैरहवामा पत्रकार सम्मेलन गरी जानकारी दिएका हुन्।

‘हम्मन संस्कृति, हम्मन पहिचान सम्बर्द्धन कयना हम्मन अभियान’ भन्ने नारासहित ओमसतिया वडा नं. ३ स्थित हार्टीफर्साटिकरमा दोस्रो खिचडी महोत्सव एवं सांस्कृतिक कार्यक्रम गर्न लागिएको क्लबका सल्लाहकार दिलबहादुर चौधरीले बताए।

‘थारु कला, संस्कृति र पहिचानको संरक्षण एवं प्रवद्र्धन गर्ने उद्देश्यले खिचडी महोत्सव गर्न लागेका हौं’, उनले भने, ‘महोत्सव सम्पूर्ण कार्यक्रमहरु थारु प्हिचानमा आधारित हुनेछन्।’

महोत्सवमा विभिन्न थारु खानाका परिकार पस्किइनुका साथै सांस्कृतिक कार्यक्रम पनि गरिने छ। चौधरीका अनुसार महोत्सवमा मनोरञ्जन दिनुका साथै थारु खानाहरु घोंगी, खिचडी, माछा, ढिकरीलगायतको स्वाद समेत चखाइने छ। माघी थारु समुदायको प्रमुख चाड हो। नेपालीका लागि माघे संक्रान्ति विशेष पर्व मानिन्छ भने थारु समुदायका लागि माघी नयाँ वर्षको दिन पनि हो। त्यसैले यसको अवसरमा थारु समुदायले विभिन्न कार्यक्रम गर्ने गर्छन्।

महोत्सवमा १५ वटा झाँकी प्रदर्शन गरिने छ। झुमरा नाच, झमटा नाच, लाठी नाच, थारु सांस्कृति नाच, थारु कला प्रदर्शनसमेत गरिने छ। माघे संक्रान्ति एक दिन मात्र मनाइन्छ भने थारु माघी पर्व पुरै महिनाभरी नै मनाउने चौधरीले जानकारी दिए।

‘थारु समुदायमा ‘हामी’ को भावना यही माघी पर्वले महत्वका साथ विकास गर्छ। यसलाई थारु समुदायले परापूर्वकाल देखि नै महान् पर्वको रुपमा धुमधामसँग मनाउँदै आएको विश्वास छ’, उनले भने।

महोत्सवमा विशेष गरी खिचडीका परिकार महत्वकासाथ प्रदर्शन गरिनुका साथै सहभागीलाई खुवाइने छ।

ज्योतिष शास्त्रअनुसार सौरमासको हिसाबले माघे संक्रान्तिदेखि सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने हुनाले यसलाई मकर संक्रान्ति (माघे संक्रान्ति) पनि भनिएको हो। यो माघ महिनाको पहिलो दिन मनाइन्छ। माघे संक्रान्ति अर्थात् माघी पुसको अन्तिम दिनदेखि सुरु हुन्छ।

थारु समुदायमा पुसको अन्तिम दिनमा गाउँभरीका मानिसहरु मिलेर सुँगुर काट्ने चलन पनि छ। यसलाई ‘जिता मर्ना’ भनिन्छ। र त्यो दिनलाई ‘जिता मर्ना दिन’ भनिन्छ। महोत्सवमा थारु संस्कृति झल्कने गरी विभिन्न समााग्रीसँगै पोसाक, गरगहना, थारु नाच पनि झल्काइने चौधरीले बताए। महोत्सव अघि ओमसतियामा रहेका विभिन्न संघसंस्था, आमा समूह, क्लबहरुले आफ्नो संस्कृति झल्कने गरी र्‍याली निकाल्ने छन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad