समाज


अपहरण गरी डेढ करोड फिरौती असुलेर भारत भागे, नामै बदले तर १२ वर्षपछि समातिए

अपहरण गरी डेढ करोड फिरौती असुलेर भारत भागे, नामै बदले तर १२ वर्षपछि समातिए

उजिर कार्की
पुस १५, २०७७ बुधबार १३:५५,

नेपालमा अपहरण गरेर भागेका सोले भनिने दुर्गाबहादुर बुढाथोकी १२ वर्षपछि भारतमा पक्राउ परेका छन्।

उनी आफ्नो परिचय नै बदलेर दार्जिलिङमा बस्दै आएका थिए।

२०६५ पुस १ गते भ्याली कोल्डस्टोरका मालिक बाबुराजा रावलको अपहरणमा उनी पनि संलग्न रहेको प्रहरीको आरोप छ। तर, उनी भाग्न सफल भएका थिए।

सीमा तरेपछि उनी ढुक्क थिए, ‘अब मलाई प्रहरीले केही गर्न सक्दैन।’

किनभने दार्जिलिङमा उनलाई दुर्गाबहादुर भन्दा कसैले चिन्दैनथ्यो।

सर्लाहीको हरिवन ९ ढुंग्रेखोलाका दुर्गाबहादुर बुढाथोकी दार्जिलिङमा पुगेपछि प्रकाश क्षेत्री भएका थिए। भारत सरकारले आफ्ना नागरिकलाई दिने आधारकार्डमा उनको नाम प्रकाश क्षेत्री नै थियो।

नाम नै बदलेपछि उनले सोचेनन्– कुनै दिन पक्राउ परिएला। तर, मंगलबार दार्जिलिङको प्रकाश स्टोरमै नेपाल प्रहरीको टोली पुग्यो। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) का डीएसपी अनिल घिमिरेको कमान्डमा पुगेको टोलीले स्थानीय प्रहरीको सहयोगमा ३८ वर्षीय दुर्गाबहादुरलाई उनको पसलबाटै पक्राउ गरेको हो।

मंगलबार उनलाई इलामको पशुपतिनगर हुँदै नेपाल ल्याइयो। प्रहरीले दुर्गाबहादुरलाई अपहरणको मुद्दामा अनुसन्धान अगाडि बढाएको छ। यसअघि सोही मुद्दामा तीनपुस्ते खुलाउन नसक्दा अदालतले उनीविरुद्ध फैसला गरेको थिएन।

सीआईबीका अनुसार बाबुराजालाई अपहरण गरेर बन्धक बनाउँदा दुर्गाबहादुरले रुङ्नले काम गरेका थिए। यस्तै फिरौती रकम लिन पनि उनी पुगेका थिए।

सीआईबी प्रवक्ता एसपी बेलबहादुर पाण्डेका अनुसार दुर्गाबहादुरसतिह प्रल्हाद महत, विष्णु जिसी, बंगुरे भन्ने विकास कार्की, सोल्टी भन्ने टासी गुरुङ, विनोद कार्की र अनिल गुरूङले बाबुराजाको अपहरण गरेका थिए।

यो समूहले अपहरण गरी बन्धक बनाएर बाबुराजाबाट १ करोड ५० लाख रुपैयाँ फिरौती लिएको थियो। फिरौती लिइसकेपछि भोलिपल्ट रावललाई टोखा पुर्‍याई छोडिदिए र उनीहरु फरार भए।

यो अपहरणका अन्य अभियुक्त यसअघि नै पक्राउ परेका छन्। तर, भारत भागेका दुर्गाबहादुर फरार थिए।

मोटरसाइकल चोर्दा बढ्यो अपहरणकारीसँग ‘कनेक्सन’
सुरुमा दुर्गाबहादुर मोटरसाइकल चोरी गर्थे। उनले चोरी गरेका मोटरसाइकल आपराधिक समूहलाई बिक्री गर्थे। यही क्रममा उनको सर्लाहीका प्रल्हाद महतसँग चिनजान भयो। प्रल्हाद महत उदय सेठ्ठीको समूहका हुन्। जो निकै ठूला अपराधी थिए। दुर्गाबहादुरको पनि त्यो समूहसँग हेलमेल बढ्न थाल्यो।

चिनजानको केही समय त उनले यो समूहलाई चोरीका मोटरसाइकल उपलब्ध गराउने काम नै गर्थे। बानेश्वरको एभरेस्ट होटलको पार्किङमा राखेका मोटरसाइकल चोरी गरेको आरोपमा उनलाई प्रहरीले २०६४ वैशाखमा पक्राउ गर्‍यो।

उनीमाथि अदालतबाट म्याद लिएर अनुसन्धान हुँदै थियो। दुर्गाबहादुरलाई बानेश्वर प्रहरी वृत्तको हिरासतमा राखिएको थियो। २०६४ वैशाख २५ गते हिरासत कक्षको ग्रिल तोडेर उनी भागेका थिए।

हिरासतबाट भागेपछि पनि उनले गुण्डागर्दी र आपराधिक घटनामा संलग्नता छाडेनन्। पहिले अन्य अपराधमा पनि उनको संलग्नता पाइएको सीआईबीको भनाइ छ।

बौद्धमा भएको सुदीप मैनालीको हत्यामा पनि उनको संलग्नता रहेको पीडित पक्षको भनाइ छ। सुदीपको बौद्धमा गोली हानी हत्या भएको थियो।

यो समूहले आपराधिक घटना घटाउनकै लागि बौद्ध, मण्डिखाटार र रुपन्देहीमा घर नै भाडामा लिएका थिए। अपहरणको फिरौती रकम समेत उनीहरुले हुण्डीमार्फत लिन्थे।

सीआईबीका प्रवक्ता पाण्डेले भने, ‘ढिलै भएपनि दुर्गाबहादुर पक्राउ गर्न सफल भएका छौं, अब पुनः अनुसन्धान गर्छौं र कारबाहीको दायरामा ल्याउँछौं।’

प्रहरीले उनी संलग्न रहेका अन्य घटनाको समेत फाइल खोजिरहेको छ। अन्य मुद्दामा पनि दुर्गाबहादुरविरुद्ध अनुसन्धान अगाडि बढाउने प्रहरीको तयारी छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .