ad ad

समाज


विप्लव समूहले लुकाएर राखेको बिस्फोटक पदार्थ प्रहरीद्वारा बरामद

विप्लव समूहले लुकाएर राखेको बिस्फोटक पदार्थ प्रहरीद्वारा बरामद

नेपालखबर
पुस १४, २०७७ मंगलबार ५:२,

संखुवासभा प्रहरीले चैनपुर नगरपालिका-४ मैदानेबाट नेत्रविक्रम चन्द विप्लव समूहका कार्यकर्ताले लुकाएर राखेको बिस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ।

प्रहरीले सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर बरामद बिस्फोटक पदार्थसहित सैन्य प्रशिक्षणका दस्तावेज सार्वजनिक गरेको हो।

चन्द समूहका कार्यकर्ताले चैनपुर–४ को मैदानेमा रहेको ओढारमा लुकाएर राखेको सामग्री बरामद गरिएको प्रहरीले जनाएको छ। सकेट बम चार थान, जिलेटिन ५० थान, डेटोनेटर ३० थान, हतियार तथा कम्ब्याटसहितको फोटो, ६ थान मोबाइलसहित ११ वटा सिम, टेन्ट, सेफ्टी फ्युजलगायतका २२ प्रकारका सामग्री बरामद गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नवराज मल्लले जानकारी दिए।

आइतबार मैदानेमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको संयुक्त गस्ती टोलीसँग चन्द समूहका कार्यकर्ताबीच दोहोरो भिडन्त भएको थियो । भिडन्तमा मानवीय क्षति भने नभएको प्रहरीको भनाइ छ।

जिल्ला सेक्रेटरी उत्तरकुमार भनिने युवराज राईसमेतका कार्यकर्ताले प्रहरीको संयुक्त गस्ती टोलीलाई देख्नासाथ अन्धाधुन्ध फायर खोलेपछि दोहोरो हवाइफायर भएको थियो।

मैदाने भौगोलिकरूपमा विटकसँगै ताप्लेजुङ र तेह्रथुम जिल्लाको सिमाना नजिकै पर्दछ । भिडन्तका क्रममा प्रहरीले दुई राउन्ड र सशस्त्रले १५ राउन्ड गोली चलाएको थियो । चन्दका कार्यकर्ताले छ राउन्ड गोली चलाएको प्रहरीले जनाएको छ।

घटनापछि मैदाने क्षेत्रमा ३६ प्रहरी र १० सशस्त्र प्रहरी परिचालन गरिएको छ । दोहोरो भिडन्तपछि जङ्गलतिर भागेका चन्द समूहका कार्यकताको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ।

गत मङ्सिर १ गते पनि मैदानेमा सुरक्षाकर्मी र चन्द समूहबीच भिडन्त भएको थियो। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .