ad ad

समाज


रूसद्वारा ईयूका अधिकारीविरुद्ध यात्रा प्रतिबन्धको घोषणा

रूसद्वारा ईयूका अधिकारीविरुद्ध यात्रा प्रतिबन्धको घोषणा

नेपालखबर
पुस ८, २०७७ बुधबार ०:१५,

केही रूसी अधिकारीमाथि लगाइएको प्रतिबन्धको बदलामा रूसले पनि केही यूरोपेली संघ (ईयू) का अधिकारीहरूमाथि प्रतिबन्धको घोषणा गरेको छ।

यसअघि ईयूले रूसका विपक्षी नेता अलेक्सी नाभाल्नीलाई विष सेवन गराइएको घटनालाई जोडेर केही रूसी अधिकारीमाथि प्रतिबन्धको घोषणा गरेको थियो।

रूसी परराष्ट्र मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युरोपेली युनियनको निर्णयको जवाफमा रुसी सङ्घमा प्रवेश निषेध गरिने ईयू सदस्य राष्ट्रहरू र विभिन्न यूरोपेली संस्थाका प्रतिनिधिहरूको सूची रूसले तयार गर्ने निर्णय भइसकेको छ।’

मस्कोले तीन ईयू देशका वरिष्ठ कूटनीतिज्ञहरूलाई बोलाई आफ्ना अधिकारीमाथि लगाइएको प्रतिबन्धबारे सोधपुछ गरेपछि बदलामा तत्कालै ईयूका प्रतिनिधिहरूमाथिको प्रतिबन्धको घोषणा गरेको हो । नाभाल्नीलाई गत अगस्टमा सोभियत सङ्घकालीन नोभिचोक विष दिइएको भन्ने ल्याबको रिपोर्टपछि ईयूले यस घटनालाई जोडेर केही रूसी अधिकारीलाई यात्रामा प्रतिबन्ध लागाएको थियो।

रूसी सरकारका एक प्रवक्ताले एएफपीलाई दिएको जानकारीमा भनिएको छ, ‘मस्कोले ईयूका कुटनीतिज्ञहरूमाथिको प्रतिबन्ध घोषणा गर्नु पहिले जर्मनी, फ्रान्स र स्विडेनका प्रतिनिधिहरूलाई रूसी अधिकारीमाथि प्रतिबन्ध लागू भएको सम्बन्धमा विदेश मन्त्रालयमा बोलाई जानकारी लिइएको थियो।’ युरोपेली कुटनीतिज्ञले यस सम्बन्धमा सार्वजनिक भनाइ राखिसकेका छैनन् ।

नाभाल्नीलाई रूसी गुप्तचर संस्था (एफएसबी) लाई घात गरेको भन्दै उनको भित्रि कपडाभित्र (गुप्ताङ्गमा) विष दिएर मार्ने कोसिस गरेको कुरा सार्वजनिक गरेको एक दिनपछि यो घोषणा आएको हो । नाभाल्नीको बयानलाई ‘बनावटी’ भन्दै नाभाल्नीले विदेशी गुप्तचर निकायहरूलाई सघाएको आरोप एफएसबीको रहेको छ।

राष्ट्रपति पुटिनको कटु आलोचक मानिने ४४ वर्षीय प्रतिपक्षी नेता नाभाल्नी अगस्टमा साइबेरियाबाट मस्कोका लागि उडानमा रहेका समय गम्भीर बिरामी भएपछि विमानलाई मस्को नलगी नजिकको सहर ओम्सकमा आकस्मिक अवतरण गराइएको थियो । उनको उपचार त्यहाँ सम्भव नभएपछि एअर एम्बुलेन्समा जर्मनीको बर्लिन लगी उपचार गरिएको थियो।

उक्त घटनाको छानबिनमा ईयू मुलुकहरूले रूसलाई नसघाएको दाबीलाई रूसी विदेश मन्त्रालयले यो हप्ताको सुरुमा पनि पहिलेजस्तै दोहोराएको थियो । मस्कोले आफ्ना सुरक्षा निकायले यस घटनामा भूमिका खेलेको आरोपलाई बारम्बार अस्वीकार गर्दै आएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .