अमेरिका तथा युरोपका विभिन्न देशमा कोरोना महामारीको दोस्रो लहर फैलिएको छ। आइतबार मात्र कोरियामा लगभग एक हजार संक्रमितको पहिचान भयो। कोरियाका अधिकारीहरूले यो तेस्रो लहर हुन सक्ने अनुमान गरेका छन्।
नेपालमा कोरोना महामारीको छाल केही सेलाएको छ। यो महामारीलाई नियन्त्रण गर्न हामी सबैले आफ्ना स्वार्थ तथा मोहलाई छाडेर समाजका लागि योगदान गर्नु अपरिहार्य बनेको छ।
के गर्ने त दोस्रो लहर रोकथामका लागि?
१०० दिन मास्क अभियान
सरकारी तथा गैरसरकारी निकायले १०० दिन मास्क अभियान सञ्चालन गरौं। यो १०० दिनसम्म सुरक्षाकर्मीले मास्क प्रयोग भए/नभएको व्यापक अनुगमन गर्ने, लापरबाही गर्नेलाई जरिवानाको गर्ने, सामाजिक संघ/संस्थाले स्वयंसेवीका रूपमा मास्क वितरण तथा मास्क लगाउन अनुरोध गर्ने। सञ्चारमाध्यमले मास्क अभियान सञ्चालन गर्ने। घरबाहिर निस्किने हरेक व्यक्तिले जिम्मेवार भएर अनिवार्य रूपमा मास्क लगाउने।
पठनपाठनबारे
सरकार तथा नागरिक दुवै पक्ष परीक्षणमा उदासीन देखिएको अवस्था छ। परीक्षण न्यून भएकाले तथा परीक्षण गर्नेले औपचारिक कामका लागि परीक्षण गरेको हुँदा समुदायमा संक्रमणको वास्तविक अवस्था के छ भनेर भन्न सकिने अवस्था छैन।
यस्तो अवस्थामा विद्यालय तथा कलेज यथास्थितिमा सञ्चालन गर्ने अर्थात् अनलाइन/अफलाइन पढाइको निरन्तरता दिनु उपयुक्त हुन्छ। घटीमा पुस र माघ स्कुल/कलेज नखोल्नु जनस्वास्थ्यका दृष्टिकोणले सुरक्षित हुनेछ। विद्यालय खुलेपछि विभिन्न ठाउँका हजारौं विद्यार्थी एकै स्कुलमा हुँदा संक्रमण सर्ने, त्यो संक्रमण घरघरमा पुगेर ज्येष्ठ नागरिक तथा दीर्घरोगीलाई सर्ने जोखिम हुन्छ। यस्तो भीडभाडले महामारीको दोस्रो लहर आउने सम्भावना हुन्छ।
तसर्थ २ महिना स्कुल बस तथा शौचालयको संख्या थप्ने, हरेक कक्षामा भेन्टिलेसनको व्यवस्था गर्ने, दूरी कायम गर्न कक्षाकोठा मिलाउने, क्यान्टिन फराकिलो बनाउने तथा मास्क/स्यानिटाइजर/पानी/साबुन/आइसोलेसन कक्ष आदिको व्यवस्था गर्नेलगायतका तयारी गर्नुपर्ने हुन्छ।
–मालपोत, यातायात कार्यालय, वडा, विद्युत् महसुल तिर्ने काउन्टरलगायत ठाउँमा भीडभाड हुन नदिने। यसका लागि बैंकको जुनसुकै काउन्टरबाट कर तिरेपछि स्वत: नवीकरण हुने र छाप १०० दिनभित्र लगाए हुने व्यवस्था गर्ने।
–लामा बस जोर/बिजोर दुवै सञ्चालन गर्ने, सार्वजनिक बसमा मापदण्ड अनुगमनको व्यवस्था गर्ने
–भोजभतेर/जमघट आदि हुन नदिने, त्यसको अनुगमन तथा निगरानी गर्ने
–ज्येष्ठ नागरिक तथा दीर्घरोगी (दम, मधुमेह, मुटु र किड्नीको समस्या भएका) यो ३ महिना घरभित्र बस्ने र घरभित्र पनि परिवारका अन्य सदस्यसँग घुलमिल नहुने
–वर्क फ्रम होम र डिजिटल सर्भिसलाई सरकारी तथा निजी क्षेत्रले अध्यावधिक गर्ने
–घर/छिमेक/अफिसमा कुनै व्यक्तिलाई कोरोना संक्रमणका लक्षण देखिएमा परीक्षण गर्न तथा आइसोलेसनमा बस्न प्रेरित गर्ने। रुघाखोकी लागे पनि सेल्फ आइसोलेसनमा बस्ने
–कडा लक्षण देखिएका संक्रमितलाई अस्पताल जान प्रेरित गर्ने
–संक्रमितलाई अक्सिमिटर/थर्मोमिटर/मास्क/स्यानिटाइजर/गाइडलाइन आदिको स्थानीय निकायले प्रबन्ध गर्ने
–होम आइसोलेसनको अनुगमन/निगरानी गर्ने
–भीड हुने ठाउँका पसललाई नम्बर दिएर जोर/बिजोर गरेर खोल्ने
–फुटपाथ तथा तरकारी बजारलाई टुँडिखेल, भृकुटीमण्डप जस्तै खुला ठाउँमा व्यवस्थित रूपमा राख्ने
–अनावश्यक यात्रा नगर्ने
–सरकारी तथा गैरसरकारी कार्यालय खोल्ने/बन्द गर्ने समय २ घण्टा फरक गरेर ट्राफिक जाम तथा बस स्ट्यान्डको जामलाई न्यूनीकरण गर्ने
–बन्द कोठामा बैठक, भेटघाट, भेला आदि नगर्ने, झ्यालढोका खोलेर भेन्टिलेसन यथासम्भव बढाउने
–जनस्वास्थ्यका मापदण्डलाई थप प्रभावकारी बनाउन महजोडीजस्ता लोकप्रिय कलाकारमार्फत विज्ञापन/टेलिफ्लिम बनाएर प्रकाशन/प्रसारण गर्ने
–सबै जनाले ‘म संक्रमित हुन्नँ’, ‘मेरो परिवार संक्रमित हुँदैन’ भन्ने प्रण गरेर मास्क, दूरी र सफाइमा विशेष ध्यान दिने
–सीमा नाकामा एन्टिजेन टेस्ट गरेर संक्रमितलाई आइसोलेसन र संक्रमण नभएका व्यक्तिलाई भित्र आउन अनुमति दिने
यी र अन्य जनस्वास्थ्यका मापदण्डलाई कडाइका साथ पालना गर्न/गराउन सबै जागरुक बनौं, कोरोना महामारीको दोस्रो लहर रोकथामका लागि सबै जना संवेदनशील भएमा हामी खोपको बिन्दुमा पुग्नेछौं।(सामाजिक सञ्जालबाट)

प्रतिक्रिया