वीरगञ्ज महानगरपालिका-३२ पारसवा निवासी ४७ वर्षीय सुरेन्द्र साह सोनारको शव फेला परेको छ। साहको हत्या भएको आशंका प्रहरीले गरेको छ।
घर नजिकैको कुलोमा गम्छाले घाँटी कसेको अवस्थामा साहको शव फेला परेको पर्साका प्रहरी प्रमुख एसपी गंगा पन्तले जानकारी दिइन्। ‘साहको हत्या भएको आशंका गरिएको छ। आँखामा पनि चोट छ। नजिकै फेला परेको लठ्ठीमा रगत लतपतिएको छ,’ एसपी पन्तले नेपालखबरसँग भनिन्।
साह बाराको सिमरास्थित जगदम्बा स्टिलमा काम गर्ने मजदुर भएका प्रहरीले जनाएको छ।
साहको शव पोष्ट मार्टमका लागि नारायणी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी निरीक्षक कुशलकुमार बर्तौलाले जानकारी दिए। ‘पोष्ट मार्टम रिपोर्ट आइसकेको छैन,’ बर्तौलाले भने, घटनाको विषयमा हामी थप अनुसन्धान गरिरहेका छौँ।’
हत्याको आशंका गरिए पनि अहिलेसम्म शंकास्पद कसैलाई पक्राउ नगरिएको उनले बताए। मंसिर २५ गते साँझ भाञ्जीको बिहेका लागि उनी उद्योगबाट रकम लिएर घर आउँदै गर्दा घटना भएको हो। लुटेराले उनको हत्या गरेको आशंका स्थानीयले गरेका छन्।

प्रतिक्रिया