तालिबानविरुद्ध गरिएको भीषण अमेरिकी हवाई कारबाहीका बीच यो वर्षको आरम्भदेखि जुन महिनासम्मको अप्रत्यासित तथ्याङ्क प्रकाशमा आएको हो।
राष्ट्रसङ्घका अनुसार उक्त अवधिमा लडाकुद्वारा ५ सय ३१ जना मारिएकोमा अफगान र नेटो नेतृत्वको फौजद्वारा ७ सय सर्वसाधारण मारिएका छन्।
अमेरिकी सेना फर्काउन वाशिङ्टन र तालिबानबीच वार्ता भइरहेको बेला यो तथ्याङ्क सार्वजनिक भएको छ।
अफगानिस्तानस्थित राष्ट्रसङ्घीय सहायता निकायका अनुसार यो वर्षको पहिलो छ महिनामा ८९ बालबालिकासहित तीन सय ६३ जनामध्ये अधिकांश अमेरिकी युद्धक विमानद्वारा गरिएको हवाई आक्रमणमा मारिएका हुन्।
अमेरिकी सेनाले उक्त तथ्याङ्क अस्वीकार गरेको छ। आफ्नो फौजले सधैँ गैरसैनिक नागरिकलाई क्षति नहुनेगरी काम गरेको भन्दै आफूले सङ्कलन गरेका प्रमाण थप यथार्थपरक भएको उसको भनाइ छ।
तर उसले सर्वसाधारण हताहत भएकोबारे कुनै तथ्याङ्क दिएको छैन। अप्रिल महिनामा राष्ट्रसङ्घले दिएको प्रतिवेदनपछि यो तथ्याङ्क आएको छ।
सन् २०१९ को पहिलो तीन महिनाबारे तयार पारिएको अघिल्लो प्रतिवेदनको निष्कर्ष पनि समान छ। नयाँ तथ्याङ्कले त्यो अप्रत्यासित प्रवृत्ति जारी रहेको देखाउँछ।
सर्वसाधारणको मृत्यबारे सङ्कलित सम्पूर्ण तथ्याङ्कमध्ये मुख्य कारण स्थल कारबाही नै देखिन्छ। त्यसपछि बम र हवाई कारबाहीमा एकतिहाइको ज्यान गएको छ। बीबीसी
Shares

प्रतिक्रिया