झापाको गौरीगञ्जमा सीमा सुरक्षामा खटिएका सशस्त्र प्रहरीका सहायक निरीक्षक (असई) ले १२ वर्षीया बालिकालाई जबर्जस्ती करणी गर्ने प्रयास गरेको आरोप आफन्तले लगाएका छन्।
बालिकालाई जवर्जस्ती करणीको प्रयास गरेको आरोप लागेपछि असई सूर्य कटुवाललाई सशस्त्र प्रहरी बल २ नम्बर गण हेडक्वार्टर झापा तानिएको छ। उनीमाथि अनुसन्धान सुरु गरिएको सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले जानकारी दिए।
गौरीगन्ज गाउँपालिका-२, कोरोबारीस्थित सीमा सुरक्षामा खटिएका कटुवालले स्थानीय १२ वर्षीया बालिकालाई आइतबार राति साढे ९ बजे घरभित्रै पसेर जबर्जस्ती करणीको प्रयास गरेका आफन्तको आरोप छ।
असई कटुवालले जबर्जस्ती गर्न खोजेपछि बालिका चिच्याएपछि उनी भागेका थिए। उनले मादक पदार्थ सेवन गरी बालिकामाथि जवर्जस्ती करणीको प्रयास गरेको आफन्तको आरोप छ।
‘कटुवाललाई जिल्ला तानेर २४ घण्टे स्पष्टीकरण सोधेका छौं,’ एसपी पाण्डेले भने, ‘उनीमाथि आन्तरिक अनुसन्धान सुरु भएको छ। दोषी देखिए कानुनअनुसार कारबाही हुनेछ।’

प्रतिक्रिया