समाज


अक्सफोर्डले बनाएको कोरोनाविरुद्ध खोप भारतमा आपतकालीन प्रयोग गर्न अनुमति माग, जुन नेपालमा पनि ल्याउन छलफल

अक्सफोर्डले बनाएको कोरोनाविरुद्ध खोप भारतमा आपतकालीन प्रयोग गर्न अनुमति माग, जुन नेपालमा पनि ल्याउन छलफल

नेपालखबर
मंसिर २२, २०७७ सोमबार २:५६,

भारतको सिरम इन्स्ट्रिच्युट अफ इन्डियाले अक्सफोर्ड तथा एक्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप आफ्नो देशमा आपतकालीन प्रयोग गर्नका लागि अनुमति मागेको छ।

भारतीय सञ्चारमाध्यमका अनुसार खोप उत्पादक कम्पनी सिरमले ड्रग्स कन्ट्रोलर जनरल अफ इन्डियासँग भारतमा खोप प्रयोगका लागि अनुमति मागेको हो।

महामरीका कारण स्वास्थ्य आवश्यकता पूरा गर्न साधन अपर्याप्त भएको र ठूलो संख्यामा जनसाधारणको जीवनसँग जोडिएको खोपको आपतकालीन प्रयोग आवश्यक भएको उसले आवेदनमा उल्लेख गरेको छ।

एक दिनअघि अमेरिकी औषधी उत्पादन कम्पनी फाइजरले पनि भारतमा यस्तै अनुमति माग्दै निवेदन दिइसकेको छ। फाइजरले बेलायत र बहराइनमा खोप प्रयोगका लागि अनुमति पाइसकेको छ।

भारतको सिरम, विश्वमै सबैभन्दा बढी खोप उत्पादन गर्ने कम्पनी हो। जसले एक वर्षमै एक अर्ब डोज खोप उत्पादन गर्न सक्छ। नेपालले पनि सोही कम्पनीबाट खोप ल्याउन छलफल गरिरहेको छ।

त्यसैगरी विकासोन्मुख देशलाई कोरोनाविरुद्ध खोप उपलब्ध गराउन विश्व स्वास्थ्य संगठनले विभिन्न संस्थासँग मिलेर गठन गरेको कोभ्याक्ससँग पनि नेपालले सम्झौता गरिसकेको छ।

खोपका लागि नेपालसहित ९२ देशले कोभ्साक्समा आवेदन दिएका छन्। कोभ्याक्सले देशको कूल जनसंख्यामध्ये २० प्रतिशत मानिसका लागि खोप उपलब्ध गराउने प्रतिवद्धता जनाएको छ।

सिरमका प्रमुख कार्यकारी अधिकृत अदर पुनेवालाले पनि एक अन्तर्वार्तामा आफ्नो कम्पनीले उत्पादन गरेको खोप उपलब्धतामा नेपाल र बंगलादेशलाई प्राथमिकतामा राखिएको बताएका छन्।

मंसिर ११ गते नेपाल भ्रमणमा आएका भारतीय विदेश सचिव हर्षवर्द्धन श्रृङ्गलाले पनि भारतमा उत्पादन हुने खोप पाउने प्राथमिकतामा नेपाल पर्ने बताएका थिए।

याे पनि : काठमाडौँमा शृंगलाको ‘खोप कूटनीति’

अक्सफोर्डले विकास गरेको खोप इन्डियन काउन्सिल अप मेडिकल रिसर्चको सह प्रायोजनमा भारतका विभिन्न स्थानमा तेस्रो चरणको क्लिनिकल ट्रायल गरिएको थियो। त्यसैगरी अक्सफोर्ड र एक्ट्राजेनेकाले बेलायत र ब्राजिलमा पनि खोपको क्लिनिकल ट्रायल गरिसकेका छन्।

सो कम्पनीले भारतमा जनवरीदेखि फेब्रुअरीसम्ममा कोरोनाको सबैभन्दा बढी जोखिममा रहेका समुदायलाई खोप उपलब्ध गराउने र मार्चदेखि अप्रिलसम्म खुला बजारमा बिक्री गर्ने गरी काम गरिरहेको जनाएको छ।

याे पनि : नेपालमा कहिले आइपुग्छ कोरोना खोप? आएपछि कसरी जोगाउने र कसलाई लगाउने?

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad