ad ad

समाज


सुदूरपश्चिमका पहाडी जिल्लामा डेढ दशकदेखि ट्राफिक दरबन्दी बढेन, सडक सुरक्षाकाे जिम्मा ५५ जनालाई!

सुदूरपश्चिमका पहाडी जिल्लामा डेढ दशकदेखि ट्राफिक दरबन्दी बढेन, सडक सुरक्षाकाे जिम्मा ५५ जनालाई!

गोकुल जोशी
मंसिर २०, २०७७ शनिबार ६:२०,

वि.सं. २०६३ मा बैतडीमा प्रहरी सहायक निरीक्षक (असई) को कमान्ड रहने गरी १० जनाको दरबन्दीसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना भयो।

पहाडी क्षेत्रमा सडक सञ्जाल विस्तार र सवारी साधनको पहुँच बढेसँगै ट्राफिक व्यवस्थापन चुस्तदुरुस्त बनाउन थप दरबन्दीको आवश्यकता भयो। सो कार्यका लागि प्रत्येक जिल्लामा ट्राफिक प्रहरी कार्यालय स्थापना गरियो। स्थापना कालमा १० जनाको दरबन्दी रहेको बैतडीमा अहिलेसम्म सोही संख्याका प्रहरीले ट्राफिक व्यवस्था सम्हालेका छन्।

स्थापनाको १४ वर्ष बित्दासमेत त्यहाँ न दरबन्दी थप भएको छ न त दरबन्दी अनुसारकै प्रहरी कार्यरत रहेका छन्। हाल १० जनाको दरबन्दीमा ९ जना मात्रै कार्यरत छन्। तिनै ९ जनाको काँधमा पुरै जिल्लाको ट्राफिक व्यवस्थाको जिम्मा छ। यो प्रतिनिधिमूलक समस्या मात्रै हो, सुदूरपश्चिमका सात पहाडी जिल्लाको अवस्था यो भन्दा पनि नाजुक छ।

पहाडी जिल्लामा दरबन्दी अनुसारको ट्राफिक जनशक्ति छैन। सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार ७५ जनाको दरबन्दीमा ५५ जना मात्रै कार्यरत छन्। डडेल्धुरा, डोटी, बैतडी र अछाममा ६० को दशकतिर दरबन्दीसहित जिल्ला ट्राफिक प्रहरी कार्यालय स्थापना भएको थियो।

बझाङ, दार्चुला र बाजुरामा २०७६ मंसिरमा जिल्ला ट्राफिकको दरबन्दी पाएको थियो। यसअघि ती जिल्लामा अस्थायी ट्राफिक पोस्ट मात्रै थियो। तत्कालीन समयको सडक सञ्जाल र सवारी साधनलाई दृष्टिगत गरेर तैनाथ ट्राफिक प्रहरीले अहिले पनि काम चलाइरहेका छन्।

सडक र सवारी दुवै बढे पनि ट्राफिक प्रहरी नबढ्दा सडक सुरक्षामा समस्या हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बैतडीका प्रमुख एवं प्रहरी सहायक निरीक्षक (असई) आकाश रावल बताउँछन्। सडक र सवारी दुवै बढेकाले पुरानै जनशक्ति सबै ठाउँमा परिचालन गर्न नसकिएको उनको भनाइ छ।

‘२०६३ सालमा स्थापना हुँदा १० जनाको दरबन्दी थियो। अहिले पनि थप भएको छैन, त्यही दरबन्दी यथावत छ’, असई रावलले भने, ‘दरबन्दी अनुसार जनशक्ति पनि छैनौँ। सडक र सवारी जताततै पुगेको अवस्थामा पुरानै जनशक्तिले सबै भेगमा सुरक्षा दिन सकिएको छैन।’

ट्राफिक प्रहरी कार्यालयले बर्षेनी दरबन्दी थप गर्न, दरबन्दी अनुसार जनशक्ति परिपूर्ति गर्न माग गर्दै आएको छ। तर, मागको वेवास्ता हुने गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय बझाङका प्रहरी सहायक निरीक्षक (असई) पुष्पराज जोशीले बताए।

७५ को दरबन्दी ५५ जना कार्यरत
सुदूर पहाडका सात जिल्लामा ७५ जना ट्राफिक प्रहरीको दरबन्दी छ। तर, ५५ जना ट्राफिक मात्रै हाल कार्यरत रहेका छन्। अन्य पहाडी जिल्लाको तुलनामा डडेल्धुरामा प्रहरी नायव निरीक्षक (सई) को कमान्डमा १५ जनाको दरबन्दी छ। यद्यपी हाल त्यहाँ ११ जना मात्रै कार्यरत छन्।

डडेल्धुराबाहेक अन्य पहाडी जिल्लामा प्रहरी सहायक निरीक्षक (असई) सहित १० जनाको दरबन्दी छ। प्रदेश ट्राफिक प्रहरी कार्यालयका अनुसार बैतडीमा ९ जना, डोटीमा १० जना, अछाममा ७ जना तथा दार्चुला, बझाङ र बाजुरामा ६/६ जना ट्राफिक कार्यरत छन्।

ट्राफिक प्रहरी सदरमुकाम केन्द्रित
प्रदेशका पहाडी जिल्लामा तैनाथ ट्राफिक प्रहरी सदरमुकाम केन्द्रित छन्। कूल दरबन्दीको आधाभन्दा बढी ट्राफिक सदरमुकाममै कार्यरत हुँदा सडक सुरक्षामा चुनौती थपिएको छ।

जनशक्ति अपुग हुँदा भीरपाखा, साँघुरा सडक, सवारी साधनको अत्याधिक चाप लगायतका कारणले संवेदनशील क्षेत्रमा उपस्थित गराउन नसकिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय डडेल्धुराका प्रमुख व्यापकचन्द्र शाहले बताए।

‘जनशक्ति न्यून हुँदा सबै ठाउँमा ट्राफिकको उपस्थित हुन सकेको छैन। ११ जनामध्ये जिल्ला बाहिर दुई ठाउँमा मात्रै ३ जना कार्यरत छन्’, उनले भने, ‘कहिले काहीँ जिल्लाबाटै चेकजाँचमा जान्छौँ।’

उनका अनुसार डडेल्धुरामा कार्यरत ११ जना ट्राफिकमध्ये २ जना जोगबुढा, १ जना सकाइलमा छन् भने बाँकी ८ जना सदरमकाममा कार्यरत छन्। यस्तै ९ जना ट्राफिक रहेको बैतडीमा जिल्ला सदरमुकाम बाहिर पाटनमा १ जना र खोड्पेमा २ जनालाई खटाइएका छन्।

डोटीको पिपल्ला बजार, बीपीनगर, बुडर, तिलताली, अछामको मंगलसेन, चौखुट्टे र साँफेबगर, दार्चुलामा सदरमुकाम खलंगा र गोकुलेश्वर, बझाङमा सदरमुकाम चैनपुर र बागथला तथा बाजुरामा सदरमुकाम मार्तडी र खल्लासैनीमा मात्रै ट्राफिक प्रहरी कार्यरत रहेका छन्।

सडक दुर्घटना बढ्दोे
सुदूरपश्चिममा बर्सैनि सवारी दुर्घटना बढ्दो क्रममा रहेको ट्राफिक प्रहरीको तथ्यांकले देखाएको छ।

आर्थिक वर्ष २०७४/०७५ मा प्रदेशभर १ सय ६४ सवारी दुर्घटना भएका थिए। यो संख्या अर्को वर्ष (आर्थिक वर्ष २०७५/०७६) मा बढेर २ सय ३४ पुगेको थियो। आर्थिक वर्ष २०७५/०७६ मा आव २०७४/०७५ भन्दा ७० बढी सवारी दुर्घटना भएको तथ्यांक छ। आर्थिक वर्ष २०७६/०७७ मा २ सय ८५ दुर्घटना भएको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयको तथ्यांक छ।

सडक सुरक्षाको जिम्मेवारी पाएका ट्राफिक जनशक्ति कम हुनु पनि दुर्घटनाको मुख्य कारण भएको बैतडीको पाटन नगरपालिका–८ खोड्पेका स्थानीय सुरेन्द्र विष्टले बताए।

‘सबै ठाउँमा ट्राफिक छैनन्। त्यसले गर्दा गाडीहरु नियमित चेकजाँच गर्न सकिँदैन’, उनले भने, ‘त्यसको मौका छोपेर चालकहरुले लापरबाही गर्छन्। क्षमताभन्दा बढी यात्रु, मापसे सेवन, तीव्र गतिले गाडी चलाउँदा दुर्घटना हुने गर्छ।’

‘सबै ठाउँमा ट्राफिकको माग हुन्छ तर दिन सकेका छैनौँ’
पहाडी क्षेत्रको सबै ठाउँमा सडक विस्तार तथा सवारी साधन पुगेसँगै स्थानीयहरुले ट्राफिक प्रहरीको माग गर्ने गरेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख एसपी बामदेव गौतम बताउँछन्। प्रयाप्त मात्रामा ट्राफिक जनशक्ति नहुँदा व्यवस्थापनमा कठिनाई भएको उनको भनाइ छ।

‘सडक र सवारी साधन बढेका छन्। अधिकांश ठाउँमा सडक पुगेको छ। गाडीहरु चल्ने गरेका छन्। स्थानीयहरुले ट्राफिक प्रहरीको माग गर्छन्’, उनले भने, ‘तर जनशक्ति नहुँदा सोचे जस्तो सडक सुरक्षा गर्न सकिएको छैन। ट्राफिक व्यवस्थापन गर्न कठिनाई हुने गरेको छ।’

उनका अनुसार सुदूरपश्चिममा सबैभन्दा बढी ट्राफिक जनशक्ति तराईका जिल्ला (कैलाली र कञ्चनपुर) मा प्रयोग भएका छन्। ‘देशभर नै ट्राफिक जनशक्तिको कमी छ। प्रदेशमा रहेकामध्ये धेरै जनशक्ति कञ्चनपुर र कैलालीमा कार्यरत छन्’, उनले भने, ‘प्रहरीमा नयाँ भर्ना गर्ने प्रक्रिया पनि जारी छ। विस्तार जनशक्ति थपिँदै जाने छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .