समाज


चिनियाँ नक्कली राहदानीमा नेपाल अध्यागमनको नक्कली छाप

चिनियाँ नक्कली राहदानीमा नेपाल अध्यागमनको नक्कली छाप

दीपक खरेल
साउन १४, २०७६ मंगलबार १३:११,

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार ( ११ साउन २०७६) एयर अरेबियाको उडानबाट सारजहा जाने यात्रुहरु लाइनमा थिए। लगेज चेक–इन गराइसकेका उनीहरु एक–एक गर्दै अध्यागमन डेस्कतर्फ गइरहेका थिए। उडान नं.जी९ ५३० काठमाडौंबाट सारजहाँ उड्न तयार थियो।

प्रस्थान डेस्कमा ड्युटीमा रहेका अध्यागमन अधिकृत राहदानी जाँच हेर्थे। बोर्डिङ पास हेर्थे। भिषा जाँच गर्थे। यात्रा उद्देश्यबारे सोधखोज गर्थे। र यात्रुलाई अन्तिम सुरक्षा जाँचका लागि पठाउँथे।

यही क्रममा लाइनमा रहेकामध्ये एक चिनियाँ राहदानीबाहकले आफ्नो कागजापत्र अध्यागमन अधिकृतलाई देखाए। उनीसँगै एक महिला पनि सँगै थिइन्। दुवैसँग रसुवागढी नाकाबाट नेपाल आएको छाप पासपोर्टमा थियो।

दुवैको राहदानीमा प्रयोग भएको भिषा स्टिकर र छाप दुवै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले प्रयोग गर्नेभन्दा केही फरक देखिए।

‘रसुवागढी नाकाको अध्यागमन छाप र भिषा स्टिकर फेरिएको हो?’, ती अधिकृतले नजिकै रहेका साथीसँग सोधे।

जवाफ आयो, ‘थाहा छैन।’

बिहानका प्रमुख ड्युटी अधिकृत हुँदै अध्यागमन विभागसम्म यो विषय पुग्यो।

विभागको सहयोगमा रसुवागढीको छाप र स्टिकर नमुना तत्काल त्रिभुवन विमानस्थलमा आइपुग्यो। अध्यागमन अधिकृतले अब स्टिकर र छाप भिडाएर हेरे। दुवै जनाको राहदानीमा प्रयोग भएको स्टिकर र छाप विभागको नमुनासँग मेल खाएन।

अध्यागमन अधिकृतले उनीहरुलाई उड्नबाट रोके। ‘अफलोड’ गरिदिए।

‘सारजहाँ हुँदै टर्कीको इस्तानबुल हिँडेका उनीहरुको राहदानीमा रसुवाबाट प्रवेश गरेको नक्कली स्टिकर फेला परेको छ,’ विमानस्थल अध्यागमन प्रमुख बेदप्रसाद खरेलले नेपालखबरसँग भने ‘दुवैको राहदानी समेत मेसिनले पढ्न नसकेपछि नियन्त्रणमा लिइएको हो।’

chinese arrestedनक्कली चिनियाँ राहदानीमा नेपाल अध्यागमनको नक्कली छाप

चीनको फुजियान प्रान्तका झेङ यान (राहदानी नम्बर ई ७७७६३५१३) यू रेङजियान (राहदानी नम्बर इसी ७१३४९७१३) सँग अध्यागमन विभागले बयान लिएको छ। महानिर्देशक ईश्वरराज पौडेलले आइतबार आफ्नै कार्यकक्षमा बोलाएर दुवैसँग सोधपुछ गरेका छन्। विभागको बयानमा उनीहरुले केही खुलाएका छैनन्। आइतबार साँझसम्मको सोधपुछमा उनीहरु नेपाल प्रवेश गरेको नाका, राहदानी र स्टिकरका बिषयमा खुल्न नसकेपछि स्थिति जटील बन्यो।

विभागले थप अनुसन्धानका लागि सोमबार दुवैलाई प्रहरीको जिम्मा लगाएको छ। उनीहरु दुवै चीनको ल्हासाबाट केरुङ हुँदै असार ३० गते नेपाल प्रवेश गरेको राहदानीबाट खुल्छ।

विभागको प्रारम्भिक अनुसन्धानले दुवैले बोकेको चिनियाँ राहदानी नक्कली भएको शंका छ। राहदानी, स्टिकर र छाप समेत नक्कली भएको देखिएपछि विभागले थप अनुसन्धानका लागि दुवै जनालाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी) को जिम्मा लगाएको छ।

‘दुवैको राहदानी नै नक्कली भएको आशंकापछि ब्युरोको जिम्मा लगाएका हौं,’ विभागका महानिर्देशक ईश्वरराज पौडेलले नेपालखबरसँग भने, ‘उनीहरु कहाँबाट नेपाल आएका हुन् र युरोप जानुको उद्देश्य को हो भन्नेबारे प्रहरीले अनुसन्धान गर्नेछ।’

दुवैजना सोमबारदेखि केन्द्रीय अनुसन्धान ब्युरोको हिरासतमा छन्। उनीहरु चिनियाँ भाषा मात्र बुझ्छन्। दुवै सुशिक्षित देखिन्छन्।

अनुसन्धान जिम्मा सीआइबीलाई

‘अनुहार र बोलीचालीले चिनियाँ हुन् भन्ने अनुमान लगाउन सकिन्छ,’ विभागका महानिर्देशक पौडेल भन्छन्, ‘उनीहरुका गतिविधिबाट हामी संशकित भएका छौं।’

ब्युरोका प्रमुख डिआईजी निरजबहादुर शाहीले दुवैबिरुद्ध सरकारी छाप किर्ते दस्तखत मुद्दामा अदालतबाट म्याद लिएर थप अनुसन्धान भइरहेको जानकारी दिए। दुवैका साथबाट बरामद राहदानी नक्कली वा सक्कली हो भनेर थाहा पाउन वैज्ञानिक परीक्षणको तयारी गरिएको उनले बताए। त्यसका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाउने लागिएको डिआइजी शाहीले जानकारी दिए।

‘राहदानी जाँचका लागि प्रयोगशाला पठाउँदैछौं,’ उनले नेपालखबरसँग भने, ‘विस्तृत अनुसन्धान परिणामले के देखाउँछ त्यसपछि केही भन्न सकिन्छ।’

त्रिुभवन अन्तर्राष्ट्रिय विमानस्थलमा नक्कली चिनियाँ राहदानी प्रयोग गरी विदेश उड्न खोजेको घटना दुर्लभ हो। युरोप र शक्तिशाली देशहरुका नक्कली राहदानी तथा भिषाबाहकहरु भने विमानस्थलमा पक्राउ पर्दै आएका छन्।

२०७६ साउन ७ गते नेपाली राहदानीमा युरोपको साञ्जेन नक्कली भिषाबाहक विमानस्थलबाट पक्राउ परेका थिए। सोही दिन स्पेनको नक्कली राहदानीबाहकलाई अध्यागमनले पक्राउ गरेको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .