समाज


संक्रमितको ज्यान जोगाउन पोखरामा भेण्टिलेटर खोज्ने अभियान

संक्रमितको ज्यान जोगाउन पोखरामा भेण्टिलेटर खोज्ने अभियान

वाशुदेव मिश्र
मंसिर १४, २०७७ आइतबार १५:३५,

गण्डकीमा सरकारी र निजी अस्पताल गरेर ६२ वटा भेण्टिलेटर रहेको प्रदेश स्वास्थ्य निर्देशनालको जिकिर छ।

तर, कोरोना संक्रमितले बेड पाउनै मुस्किल छ। बिरामीलाई अस्पतालले भेण्टिलेटर नभएको भन्दै फर्काउने गरेका छन्। कतिपय बिरामीको अस्पताल चहार्दा–चहार्दै मृत्यु भएको छ।

पोखरामा भेन्टिलेटर नपाएर कोरोना संक्रमित बिरामीले तड्पिन नपर्ने भएको छ। नेपाल भेन्टिलेटर सोसाइटी कास्कीले संक्रमित बिरामीको लागि भेन्टिलेटर उपलब्ध गराउने घोषणासँगै यस्तो आशा पलाएको हो। 

सोसाइटीले आइतबारबाटै आवश्यक परे एउटा भेण्टिलेटर र ३ वटा न्याजल फ्लो क्यानेला (शरीरमा पाइप नघुसाई अक्सिजन दिन मिल्ने मेसिन) उपलब्ध भएको जानकारी पनि गराएको छ। भेण्टिलेटर र न्याजल फ्लो क्यानेला यतिबेला रानीपौवामा रहेको मेडिप्लस अस्प्तालमा राखिएको छ।

सोसाइटीमा अध्यक्ष विश्वशंकर पालिखेका अनुसार भेण्टिलेटर र अक्सिजन आवश्यक पर्ने बिरामीले ती सामानहरु उपयोग गर्न सक्नेछन्। तर, ती सामानको व्यवस्थापनको लागि सामान्य शुल्क भने लिइने उनले जनाए।

‘कसलाई कतिबेला भेण्टिलेटर र अक्सिजन चाहिन्छ भन्ने थाहा नै छैन, यस्तो बेला भेण्टिलेटर नपाएर कसैले ज्यान गुमाउन नपरोस् भनेर हामीले भेण्टिलेटर व्यवस्थापनको अभियान थालेका हौं’, आइतबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘ती सामानको व्यवस्थापन गर्नुपर्ने भएकोले सामान्य शुल्क भने तोकिएको हो।’

भेन्टिलेटर प्रयोग गर्ने सरकारी अस्पतालले १ हजार, सामुदायिकले २ हजार र निजी अस्पतालले ३ हजार शुल्क तिर्नुपर्ने छ। क्यानेलाबापत् सरकारी अस्पतालले ३ सय, सामुदायिकले ५ सय र निजीको लागि ७ सय रुपैयाँ शुल्क तोकिएको छ। निजी अस्पतालहरुमा भेण्टिलेटर प्रयोग गरेबापत् एकदिनकै २५ हजार रुपैयाँसम्म तिर्नुपर्छ।

बिरामी अस्पताल जाने तर भेण्टिलेटर नपाउने अवस्था नहोस् भन्ने हेतुले यो अभियान थालिएको संस्थाका सचिव रामकृष्ण ज्ञवालीले बताए। उनका अनुसार गण्डकीमा २० वटा भेण्टिलेटरको व्यवस्थापन गर्ने सोसाइटीको अभियान रहेको छ।

‘पहिलो चरणमा हामी १० वटा भेण्टिलेटर व्यवस्थापनमा जुटेका छौँ’, उनले भने, ‘पछि प्रदेशमा २० वटा पु-याउने लक्ष्य छ।’

भेण्टिलेटर सोसाइटीले विभिन्न व्यक्तिको सहयोगबाट ती सामान जुटाएको हो। आइतबार मात्रै युवा उद्यमी मञ्च, पोखराले २ लाख, अध्यक्ष विश्वशंकर पालिखेबाट १ लाख, बाराही ग्रुपको तर्फबाट विप्लव पौडेलले १ लाख, गोसली हाउसको तर्फबाट सुनिलकुमार गोसलीले १ लाख, रोटरी इण्टरनेसन डिष्ट्रिक्ट ३९२ का निवर्तमान गभर्नर किरणलाल श्रेष्ठले १ लाखभन्दा बढी रकम दिने घोषणा गरे। यसैगरि पोखरा उद्योग वाणिज्य संघको तर्फबाट महासचिव अर्जुन पोखरेल तथा बतास अर्गनाइजेसनबाट पनि सहयोगको आश्वासन प्राप्त भयो।

‘कोरोना सुरु भएपछि नै हामीले भेण्टिलेटरको आवश्यकताबारे सोचेका थियौँ, सको लागि हामी धेरै ठाउँमा धायौं तर सहयोग भएन’, उनले भने,‘महामारीको पूर्वतयारी गरिएन र पैसाले जीवन किन्न सकिँदैन तर भेण्टिलेटर भए जीवन बचाउन सकिन्छ भनेर यो अभियान सुरु गरियो।’

उनका सहयोगीहरुलाई नेपाल भेन्टिलेटर सर्भिस काठमाडौंको नाममा एनएमबी र्बैंक र लक्ष्मी र्बैंकको खातामा पैसा जम्मा गर्न आग्रह पनि गरे।

यता, रोटरीका पूर्वगभर्नर किरणलाल श्रेष्ठले रोटरी इण्टरनेसनलसँगको सहकार्यमा कम्पनीबाटै १५ लाखको हाराहारी मूल्यमा भेण्टिलेटर र ६ लाखको लागतमा मिनी भेण्टिलेटर ल्याउन सकिने र त्यसमा रोटरीले ५० प्रतिशत अनुदानको व्यवस्था गर्ने घोषणा गरे।

रोटरीको तर्फबाट आउँदो जुलाईसम्म नेपालमा ५ लाख डोज कोरोना खोप ल्याइपु-याउने उद्घोष पनि उनको थियो। समितिका सदस्य समेत रहेका डाक्टर सरोज पोखरेलले कोरोना संक्रमितको लागि अपनाइएका विभिन्न उपचारमा अक्सिजन महत्वपूर्ण रहेको बताए।

पोखरामा अहिले भेन्टिलेटर चलाउने जनशक्तिको पनि अभाव भएको उनले बताए। उनका अनुसार सोसाइटीले भेण्टिलेटर चलाउने तालीम पनि आयोजना गर्दैछ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .