विचार


के आणविक वैज्ञानिकको हत्या इरान युद्धको सुरुवात हो?

के आणविक वैज्ञानिकको हत्या इरान युद्धको सुरुवात हो?

साइमन टिसडल
मंसिर १४, २०७७ आइतबार १५:१७,

शुक्रबार इरानका प्रमुख आणविक वैज्ञानिक मोहसिन फक्रजादेको हत्या भयो। यो हत्याले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प आफ्नो कार्यकालको अन्तिम समयमा इजरायली र साउदी कट्टरपन्थीहरुसँग मिलेर इरानसँग युद्ध सुरु गर्न चाहन्छन् कि भन्ने आशंका उब्जाएको छ। इरानप्रतिको चार वर्ष लामो ट्रम्पको हिंसात्मक प्रतिशोध चरमोत्कर्षमा पुग्दै छ। चुनाव हारेपनि दीर्घकालीन क्षति निम्त्याउने शक्ति र स्रोत ट्रम्पसँग अझै छ।

गत साता साउदी अरबमा इजरायली प्रधानमन्त्री बेन्यामिन नेतन्याहु, अमेरिकी विदेशमन्त्री माइक पम्पेओ र साउदी युवराज मोहम्मद बिन सलमानबीच गुप्त बैठक भयो। यो अभूतपूर्व बैठक थियो। त्यसलगत्तै ट्रम्पले चाँडै नै गुप्त रुपमा होस् वा खुल्लमखुल्ला, अथवा प्रत्यक्ष होस् वा साइबर, जसरी पनि इरानमाथि कुनै न कुनै किसिमको आक्रमणको पहल गर्ने अनुमान चलिरहेको थियो।

साउदीमा ती तीन जनाले के छलफल गरे, गोप्य राखिएको छ। जसले षड्यन्त्रको सिद्धान्तलाई थप मलजल गरेको छ। उनीहरुले तेहरानको सत्तालाई उत्तेजित तुल्याउने र कमजोर पार्ने प्रयासलाई गति दिने सहमति गरेको केहीले दाबी गरेका थिए। हत्याको बदलामा इरानले कुनै कदम चाले त्यसलाई सम्भवतः इरानी आणविक ठेगानामा आक्रमण गर्ने बहानाका रुपमा प्रयोग गरिनेछ। त्यस्तो आक्रमण ट्रम्पले जनवरी २० मा पद छाड्नुअघि नै हुनेछ।

लालसागरनजिकैको नियोम सहरमा भएको सो बैठकबारे सम्भवतः जानाजान सूचना चुहाइएको थियो। जसले एउटा महत्वपूर्ण उदेश्य पुरा गर्‍यो। अमेरिकी चुनाव जितेका जो बाइडेन इरानसँग वार्ता सुरु गर्न तथा सन् २०१५ को आणविक सम्झौता ब्युँत्याउन चाहन्छन्। तर, सो बैठकमा सहभागीहरुले इरानविरोधी मोर्चा तयार पारेर बाइडेनलाई सन्देश दिए– वार्ता गर्ने तिम्रो योजनाको कडा विरोध हुनेछ र यस विषयमा तिमीले पुनर्विचार गर्नुपर्ने हुनसक्छ।

इरानका सर्वोच्च नेता आयातोल्ला अलि खामेनीले वैज्ञानिक हत्याको बदला लिने बाचा गरेका छन्। सोहीअनुरुप इरानले कारबाही गरे सो क्षेत्रमा शान्ति कायम गर्ने बाइडेनको आशा चकनाचुर हुनेछ। सँगसँगै नातान्जसहित इरानका आणविक ठेगाना ध्वस्त हुनेछन्। यसको अर्को खतरा पनि छ। इरानले आफूलाई रोके पनि इराक, सिरिया वा लेबनानका तेहरानप्रति वफादार सिया मिलिसियाहरुले आफूखुसी कदम चाल्न सक्छन्।

‘उनका हत्यारामाथि हामी चट्याङसरी प्रहार गर्नेछौँ, जसले तिनलाई आफ्नो कर्मप्रति पछुतो मान्न बाध्य गराउनेछ,’ सर्वोच्च नेताका एक सल्लाहकार हुसेन देरखानले ट्विट गरेका छन्। तथापि इरानको दुविधा पीडादायी छ। यदि इरानले बदलाको ठोस कदम उठायो भने उसले आफ्ना दुश्मनलाई चाहेकै मौका प्रदान गर्नेछ। जसलाई प्रयोग गरेर उनीहरु इरानमाथि आक्रमण गर्न चाहन्छन्।

वासिङ्टनले हरियो झण्डा देखाएपछि इजरायलले यो हत्या गराएको हो भन्नेबारे इरानका नेताहरुलाई कुनै सन्देह छैन। राष्ट्रपति हसन रुहानीले स्पष्ट रुपमा ‘यहुदीवादी सत्ता’ लाई दोष दिएका छन्। विदेशमन्त्री जावेद जरिफले यसमा इजरायलको भूमिका रहेको ‘गम्भीर संकेत’ भेटिएको ट्विटरमार्फत बताएका छन्। ‘इरान अन्तर्राष्ट्रिय समुदायलाई, खासगरी युरोपेली संघलाई तिनको लज्जास्पद दोहोरो मापदण्ड अन्त्य गर्न र यो आतंकवादी कार्यको भर्त्सना गर्न आग्रह गर्छौँ,’ उनले लेखेका छन्।

Iran Scientist

फक्रजादेमाथि तेहराननजिकै सडकमा गोली बर्साइएको थियो। उनको हत्याको तरिका र सन् २०१० देखि २०१२ का बीचमा भएका आणविक वैज्ञानिकहरुको हत्याको तरिका उस्तै थिए। त्यसबेला पनि इरानले दोष इजरायललाई नै दिएको थियो।

सन् २०१८ मा नेतन्याहुले फक्रजादेलाई इरानको आणविक कार्यक्रमको ‘मास्टरमाइन्ड’ भएको दाबी गरेका थिए। यो हत्याले गत जनवरीमा भएको जर्नेल कासिम सुलेमानीको हत्यालाई पनि सम्झाएको छ। इस्लामिक रिभोलुसनरी गार्डका कर्प्स कमान्डर सुलेमानीको हत्याको आदेश ट्रम्पले नै दिएका थिए। सुलेमानीलाई राष्ट्रिय नायक मानिएको थियो। उसो त फक्रजादे पनि प्रभावशाली व्यक्ति हुन्। उनको मृत्यु इरानका लागि निकै ठूलो धक्का हो।

इरानविरुद्ध कारबाही गर्न गुप्त तौरतरिका अपनाउन ट्रम्प तयार रहेको उनले यसअघि पनि स्पष्ट पारिसकेका छन्। इरानले गुप्त रुपमा आणविक हतियार बनाइरहेको र मध्यपूर्वमा अस्थिरता निम्त्याएको आरोप ट्रम्पले लगाउँदै आएका छन्। ती आरोपलाई इरानले अस्वीकार गर्दै आएको छ। ट्रम्पकै रेखदेखमा अमेरिका र इजरायलले इरानमाथि पटकपटक विध्वंसात्मक आक्रमण गर्ने गरेको विश्वास गरिन्छ।

गत जुलाईमा नातान्ज आणविक इन्धन उत्पादन केन्द्रमा रहस्यमयी विस्फोट भएको थियो। जसले सो स्थानलाई क्षतिग्रस्त तुल्याएको थियो। ट्रम्पले सन् २०१५ को आणविक सम्झौता परित्याग गरेपछि इरानको युरेनियम भण्डार १२ गुणाले बढेको संयुक्त राष्ट्रसंघको रिपोर्टले जनाएको थियो। त्यसपछि यसै महिना नातान्जसहित अन्य निसानाहरुमा आक्रमण गर्ने विकल्पबारे ट्रम्पले छलफल गरेको रिपोर्ट प्रकाशित भएका थिए।

त्यस्तै गत सप्ताहन्तमा आणविक बम खसाल्नसक्ने कयौँ बी–५२ बमवर्षक विमानलाई ७ हजार माइल उडान भरेर मध्यपूर्व पुग्न ट्रम्पले आदेश दिएका थिए। यसको कारण अझै खुलिसकेको छैन।

के इरानको आणविक कार्यक्रमलाई एउटा धक्का दिने उदेश्यले यो हत्याको षड्यन्त्र रचिएको थियो? अथवा यो सबै कुनै युद्धको सुरुवात हो? आखिर ट्रम्प इजरायलको रक्षक र इरानको भक्षकका रुपमा आफ्नो विरासत कायम गर्न चाहन्छन्।

निश्चय नै ट्रम्पलाई यतिखेर एउटा जितको आवश्कयता छ। आजको दिनसम्म इरानप्रति उनले लिएको नीतिले आत्मघाती नतिजा मात्रै दिएको छ। ‘अधिकतम दबाब’ दिन उनले लगाएका नाकाबन्दीले इरानी जनतालाई दुःख दिएपनि तिनका नेताहरुलाई झुकाउन सकेन। ट्रम्पले आणविक सम्झौता भंग नगरेको भए इरानले आणविक हतियार प्राप्त गर्ने क्षमता जति विकास गर्न सक्थ्यो, त्यो भन्दा बढी क्षमता अहिले विकास गरेको छ।

तथापि, अब के हुन्छ भन्ने विषय केही हदसम्म इजरायल र साउदी अरबमा पनि निर्भर हुन्छ। नेतन्याहु र युवराज मोहम्मद दुवै बाइडेनलाई सन्देश दिन चाहन्छन्– इरानलाई मनाउनतिर लाग्नु हुँदैन। यदि आणविक सम्झौता ब्युँत्याउने हो भने हाम्रो हात माथिबाट पर्नेगरी नयाँ सर्त थपिनुपर्छ। र, इरानमाथिको नाकाबन्दी पनि कायम रहनुपर्छ।

तर, नेतन्याहु र मोहम्मद दुवै होसियार रहन आवश्यक छ। नेतन्याहुले बाइडेनको दृष्किोणलाई नजरअन्दाज गर्न सक्दैनन्। दुश्मनी बढाउँदा इजरायलको सुरक्षामाथि कस्तो असर पर्छ, उनले सोच्न आवश्यक छ। निश्चय नै युवराज मोहम्मद इरानलाई धक्का दिन चाहन्छन्। तर, इरानले साउदी सहर र तेल उत्पादन केन्द्रलाई निसाना बनाउन थाल्ने हो भने के होला, उनले पनि सोच्नुपर्छ। उनीहरुका लागि यो हत्या निकै जोखिमपूर्ण जुवा हो।

बदला लिने तीव्र इच्छालाई रोक्ने कि आक्रमण गरेर ठूलो द्वन्द्वलाई निम्त्याउने, इरानका नेताहरुले अहिले निर्णय गर्नुपर्ने हुन्छ। जतिबेला इरानको अर्थतन्त्रले नाकाबन्दी र कोरोना महामारीका कारण घुँडा टेकेको छ। यो मध्यपूर्वकै भाग्य निर्धारण गर्ने क्षण हो। घृणा र दुर्भावनाले भरिएका ट्रम्प आक्रमणको क्षण पर्खिरहेका छन्। चार वर्षको असफलतापछि सायद उनी ठूलो विस्फोटका साथ विदा हुन चाहन्छन्।

(द गार्जियनबाट। साइमन टिसडल विदेश मामिला टिप्पणीकार हुन्। यसअघि उनी द गार्जियनको अमेरिका सम्पादक थिए)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .