समाज


निजी क्षेत्रका डाक्टरले धान्दै जिल्ला अस्पताल

निजी क्षेत्रका डाक्टरले धान्दै जिल्ला अस्पताल

नेपालखबर
साउन १४, २०७६ मंगलबार ११:१०,

चार जना सरकारी चिकित्सकको दरबन्दी रहेको डोटी अस्पतालमा पछिल्लो समय गैरसरकारी संस्थाले खटाएका चिकित्सकका भरमा काम सञ्चालन हुँदै आएको छ। अस्पतालमा नवाैँ र दशौँ तहका दुई जना र मेडिकल अधिकृत दुई जना गरी कूल चार जनाको दरबन्दी भए पनि एक जना मेडिकल अधिकृत डा भूषण मिश्र मात्रै कार्यरत छन्। उनले निमित्त मेडिकल सुपरिटेन्डेण्ट भएर अस्पताल चलाइरहेका छन्।

अस्पतालमा सरकारी डाक्टर नभएपछि गैरसरकारी संस्था निक साइमन इन्टरनेशनलले दुई जना चिकित्सक उपलब्ध गराएको छ। एमडिजिबी गरेका डा गिरिश अवस्थी र एमबिबिएस गरेका डा खुसिद आलम खान रहेका छन्। अस्पतालमा दरबन्दीअनुसारका डाक्टर नहुँदा निकै समस्या भएको निमित्त मेडिकल सुपरिटेन्डेण्ट डा भूषण मिश्रले बताए। उनले भने ‘अस्पतालमा दरबन्दीका डाक्टर छैनन्, संस्थाले खटाएका साथी भएकाले केही सहज भएको छ, नत्र मलाई नै हम्मेहम्मे पर्थ्याे।’

अस्पतालमा दरबन्दीअनुसारका चिकित्सक अभावका कारण स्वास्थ्य सेवा विस्तारमा समस्या आएको अस्पताल प्रशासनले जनाएको छ। अस्पतालमा दरबन्दी अनुसारका डाक्टरको सङ्ख्या कमी भए पनि स्वास्थ्यकर्मीको दरबन्दी भने पूर्ण रहेको छ।

अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्न पर्याप्त संरचना बनेका भए पनि अस्पतालमा अहिलेसम्म जम्मा १५ श्यया मात्रै स्वीकृत छ। सरकारले ५० श्ययाका अस्पताल बनाउने निर्णय गरे पनि उक्त निर्णय कार्यान्वयन हुन सकेको छैन। भौतिक पूर्वाधार तयार भएको रिपोर्टसहितको ५० श्ययाको अस्पतालको माग गरिएपनि सरकारी निकायबाट नै कार्यान्वयन गर्ने भन्ने आदेश नआएकाले ५० श्ययाको अस्पताल बनाउन नसकिएको अस्पताल प्रशासनको दाबी छ। सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा अझै पनि एउटा राम्रो अस्पताल नभएकाले सरकारको तत्कालै ध्यान दिई स्तरोन्नति गर्नुपर्ने जिल्ला अस्पताल डोटीमा कार्यरत डा गिरीश अवस्थीले बताए।

उनले भने, ‘संरचना तयार भइसकेको अस्पताललाई स्वीकृति प्रदान गर्न हिच्किचाउनु हुँदैन, स्वीकृति दिँदा राम्रो हुनेछ’ उनका अनुसार जिल्लामा राम्रो अस्पताल नभएकै कारण ९० प्रतिशत हाडजोर्नीका बिरामी भारत र नेपालगञ्ज पठाउर्नुपर्ने अवस्था छ ।

संरचना तयार भइसक्दा अस्पताललाई स्वीकृति नदिनु दुःखद् भएको दिपायल सिलगढी नगरपालिकाका पूर्वनगर प्रमुख पूर्णराज जोशीले बताए। डोटीमा क्षेत्रीय अस्पताल निर्माणका लागि खरीद गरिएको जग्गा वर्षौंदेखि अलपत्रमा परेको छ। दिपायल सिलगढी नगरपालिकाको बागठाँटामा रहेको उक्त क्षेत्रीय अस्पताल निर्माणका लागि खरीद गरिएको जमीन प्रयोगमा नआउँदा वर्षेनी गौचरनमा परिणत हुँदै आएको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad