समाज


७ अर्ब ६१ करोड अवैध रकम प्रकरणमा अष्ट्रेलियामा नेपाली पक्राउ

७ अर्ब ६१ करोड अवैध रकम प्रकरणमा अष्ट्रेलियामा नेपाली पक्राउ

नेपालखबर
साउन १४, २०७६ मंगलबार ८:३२,

नेपालमा हुने घूस कारोबारको रकम हुन्डीबाट अष्ट्रेलिया गइरहेको चर्चा भइरहँदा ठूलो परिमाणमा अवैध रकम कारोबार गर्ने नेपाली सिड्नीबाट पक्राउ परेका छन्।

करिब ७ अर्ब ६१ करोड १३ लाख रुपैयाँ (१० करोड अष्ट्रेलियन डलर) अबैध कारोबार अभियोगमा नेपाली पक्राउ परेका हुन्। पक्राउ पर्नेमा ३० वर्षीय विपिन थापा छन्। उनी बाहेक अन्य दुई व्यक्ति समेत सो गैरकानुनी धनराशी प्रकरणमा पक्राउ परेका छन्।

तीनदेखि चार वर्षको अवधिमा यो समूहले ८ देखि १० करोड अष्ट्रेलियन डलरको अवैध हुण्डी कारोवार गरेको भेटिएको हो।

अस्ट्रेलिया क्रिमिनल ग्रुप्स स्क्वाडले थापासहित गगनदीप पवा, गोपाली दाहाललाई पक्राउ गरेको हो। यो ठूलो हुन्डी कारोबारका मुख्य अभियुक्त गगनदीप हुन्। दाहाल उनकी घरेलु साझेदार भएको अनुसन्धान अधिकारीहरुले उल्लेख गरेका छन्।

द सन्डे मर्निङ हेराल्डकाअनुसार उनीहरुले साउथ–वेस्ट सिड्नीलाई आधार बनाएर अवैध हुण्डी कारोबार गर्दै आएका थिए। गगनदीप सञ्चालक रहेको कम्पनीको नाउँमा एकै दिन स्रोत नखुलेको ४ लाख ४५ हजार डलर बैंक अफ न्यु साउथ वेल्समा जम्मा भएको थियो। अनुसन्धान अधिकारीहरुले त्यहीँदेखि उनीहरुमाथि निगरानी बढाएका थिए।

पक्राउ गर्दाका बखत उनीहरुबाट प्रहरीले ४ लाख डलर, पैसा गन्ने मेसिन तथा ३ वटा सवारी साधनसमेत बरामद गरेको छ।

देखाउनका लागि सेक्युरिटी व्यापारको कम्पनी खडा गरी भित्री रुपमा ठूलो रकमको अवैध कारोबार गर्दै आएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

पक्राउहरुका तर्फबाट मुद्दा हेरिरहेका वकिल इजाज खानकाअनुसार अष्ट्रेलियाको कानुनअनुसार अभियोजन गम्भीर प्रकृतिको हो। ‘प्रहरीले लगाएको आरोपबारे प्रमाण हेर्ने काम गरिरहेको छु। ती आरोपहरु निकै खराब र गम्भीर खालका छन्। मैले अभियोजन पक्षको मुद्दाबारेमा टिप्पणी गर्नु अगाडि प्रमाणहरु हेर्न आवश्यक हुन्छ’, उनले भनेका छन्।

अदालतका कागजातअनुसार तीनैजनाले कम्तिमा पनि १० करोड अष्ट्रेलियन डलर बराबरको हुण्डी कारोबार गरेको देखिएको छ। गगनदीप सञ्चालक रहेको एजसियोर प्रोटेक्सन सर्भिसेसबाट यो अवैध कारोबार भएको हो।

आपराधिक समूहबाट आएको रकम समेत उनीहरुको खातामा जम्मा हुने गरेको अनुसन्धानले देखाएको छ। सन् २०१६ देखि २०१८ सम्म गगनदीप यस कम्पनीको निर्देशक तथा सचिव थिए। त्यसयता भने दाहाल यस कम्पनीका निर्देशक र सेयर धनी रहँदै आएकी छिन्। रकम परिचालन गर्ने कार्यमा थापाको संलग्नता देखिएको छ।

मुद्दा अनुसन्धान गरिरहेका प्रहरी अधिकारीहरु यो प्रकरणमा थप व्यक्ति पक्राउ पर्न सक्ने बताउँछन्। घटना अनुसन्धानका लागि खटिएका जासुस इन्स्पेक्टर निक रिड भन्छन्,‘अनुसन्धानले थप प्रमाण जुटाउनेछ। अरु केही व्यक्तिहरु पक्राउ पर्न सक्छन्।’

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad