समाज


क्लब डेजाभुका सञ्चालक श्रेष्ठ विमानस्थलबाट पक्राउ

क्लब डेजाभुका सञ्चालक श्रेष्ठ विमानस्थलबाट पक्राउ

दीपक खरेल
साउन १४, २०७६ मंगलबार ६:३,

राजधानीको दरबारमार्गमा रहेको क्लब डेजाभुका सञ्चालक मनोज श्रेष्ठलाई प्रहरीले विमानस्थलबाट पक्राउ गरेको छ।

श्रेष्ठलाई हङकङबाट क्याथे ड्रागनको उडानमा नेपाल आउने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा इन्टरपोलको माइन्ड सिष्टममार्फत अध्यागमन कार्यालयबाट पक्राउ परेका हुन्। उनीविरुद्ध ०७५ माघ १५ गते अन्तर्राष्ट्रिय स्तरमा खोजतलासको लागि इन्टरपोलबाट 'डिफ्युजन नोटिस' जारी भएको थियो।

१२ गते राति पक्राउ परेका श्रेष्ठलाई १३ गते महानगरीय प्रहरी परिसर काठमाडौंको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। पर्वत घर भई हाल ललितपुरको झम्सीखेल बस्दै आएका श्रेष्ठविरुद्ध बैंकिङ कसुरको मुद्दा चलिरहेको छ।

उनीविरुद्ध दोलखा घरभई काठमाडौं बस्ने विश्वराम श्रेष्ठले डेजाभूको सेयर बिक्री र मर्मतसम्भारका लागि भन्दै विभिन्न मितिमा लिएको २ करोड रुपैयाँ नदिएको आरोप छ। विश्वरामलाई मनोजले फरक मितिमा दिएका एक–एक करोडका दुई चेक बाउन्स भएपछि बैंकिङ कसुरमा १३ पुस २०७५ मा जाहेरी दिएका थिए। यी दुवै चेक डेजाभुकै नबिल बैंक खाताका हुन्।

विश्वरामको जाहेरीमा मनोजविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंले बैंकिङ कसुर मुद्दामा काठमाडौं जिल्ला अदालतबाट २० पुस २०७५ मा पक्राउ पुर्जी जारी गरेको थियो। त्यसको दुई दिनपछि निवेदक विश्वरामले मनोज भागेर हङकङ पुगेको जानकारीसहित अर्को निवेदन प्रहरीमा दिए। दोस्रो निवेदनपछि महानगरीय प्रहरी परिसर काठमाडौंले इन्टरपोललाई पत्र लेखेअनुसार उनीविरुद्ध नोटिस जारी भएको हो।

याे पनि ः डेजाभू क्लबको मुद्दा इन्टरपोलमा


सो निवेदनमा मनोजसँगै समिप शिलाकार र अनान गुरुङलाई समेत विपक्षी बनाइएको थियो। प्रहरी तीनै जनाविरुद्ध मुद्दा लिएर सरकारी वकिल कार्यालय गएको थियो। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयले चेकमा हस्ताक्षर मनोजको मात्र रहेकोले उनीविरुद्ध मात्र मुद्दा अघि बढाएको थियो। विश्वरामले दिएको १३ पुसको जाहेरीमाथि कारवाही प्रक्रिया चलिरहँदा डेजाभू सञ्चालक समिति बैठकले २०७५ पुस १४ मा मनोज श्रेष्ठविरुद्ध चेकको दुरुपयोग र आपराधिक विश्वासघात गरेको आरोपसहित सरकारी वकिल कार्यालयमार्फत पूरक जाहेरी दर्ता गराएको थियो।

हालका अध्यक्ष प्रवेश श्रेष्ठसहित सेयरधनी समिप शिलाकार र प्रतिक श्रेष्ठले कम्पनीका अधिकृत राजेश मल्ललाई अख्तियारी दिएर मुद्दा अघि बढाएका थिए। परिसर प्रमुख एसएसपी वसन्त लामाले घटनाका आरोपी पक्राउ गर्न आनाकानी गरेको समाचार बाहिरिएपछि डेजाभू एकपटक फेरि चर्चामा आएको थियो। तर एसपी लामाले भने त्यतिबेला जाहेरीअनुसारको मिसिल सरकारी वकिल कार्यालयमा बुझाएको भन्दैसरकारी वकिल कार्यालयले चेकमा हस्ताक्षर चल्ने व्यक्ति मात्रै विपक्षी हुने भनेपछि अन्य दुईको पक्राउ पुर्जी रद्द भएको बताएका थिए।

याे पनि ः दरबारमार्गको क्लब डेजाभूमा ‘अन्डरग्राउन्ड’ लगानी


परिसरमा रहेको मिसिलअनुसार २०७५ वैशाख ७ मा मनोज श्रेष्ठले आफ्नो स्वामित्वमा रहेको क्लबको ६ हजार थान सेयरमध्ये ४ हजार थान सेयर दोलखा स्थायी ठेगाना भएका विश्वराम श्रेष्ठलाई बिक्री गरेका थिए। बिक्रीको कपाली तमसुकमा पर्वतका युवराज सापकोटा र गोरखाका पदमबहादुर श्रेष्ठ साक्षी बसेका थिए। सोही दिन सञ्चालक समितिको बैठक बोलाएर अध्यक्ष मनोजले सेयर बिक्रीको निर्णय गरेको बोर्ड बैठक माइनुटबाट देखिन्छ। तर बैठकमा उपस्थित भनिएका अनान गुरुङ, समिप शिलाकार र प्रतिक श्रेष्ठले माइनुटमा हस्ताक्षर गरेका छैनन्। बिक्री गर्ने मनोज र खरिद गर्ने विश्वरामले मात्र हस्ताक्षर गरेका छन्।

प्रहरीका अनुसार २०७३ कात्तिक १२ मा कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको डेजाभु क्लबमा गंगाबहादुर पुरी, अनान गुरुङ, पृथु बाँस्कोटा, प्रवेश श्रेष्ठ, मयंक खड्का र मिलोन श्रेष्ठ सेयरधनी छन्। कम्पनीले २०७५ साउन २१ मा विशेष साधारणसभा बोलाएर अध्यक्षबाट मनोजलाई हटाएको थियो। आफू अनुकूल कम्पनी सञ्चालन गरेको र हरहिसाब गडबड गरेको आरोप साधारण सभाले लगाएको थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .